इटहरी : काँकडभिट्टा–लौकही सडक खण्डअन्तर्गत 'एसियन हाइवे'को इटहरी खण्डमा सडक निर्माण कार्य अन्योलमा परेको छ ।
आयोजनाको पूर्वी खण्ड स्थित मोरङको लक्ष्मीमार्ग क्षेत्रमा कालोपत्रे गर्ने प्रक्रिया समेत अघि बढेको समयमा इटहरी खण्डमा भने संरचना हटाउने विषयमै विवाद देखिएको हो ।
गोठगाउँदेखि इटहरीसम्मको सडक निर्माणको जिम्मा पाएको कोभेक–सिआइजिसी–टुण्डी जेभीले संरचना हटाउन सहज वातावरण मिलाइदिन आयोजना कार्यालयलाई पटक–पटक अनुरोध गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दै सडक मापदण्डभित्र पर्ने संरचना हटाउन आग्रह गरिसकेको अवस्थामा इटहरीकै व्यवसायीहरू प्रशासन गुहार्न पुगेका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले गत जेठ २२ गते नै १२४ घरधनीको आंशिक रूपमा घरको मुआब्जाका साथै क्षतिपूर्तिका लागि भन्दै सूचना प्रकाशित गरेको थियो ।
बजार क्षेत्रमा पर्ने घरहरूमध्ये तीन वटा घर धनीले पनि अदालतबाट 'स्टे अर्डर'ल्याएको र बाँकी घरमध्ये धेरैजसो घरको छजी परेकाले त्यो संरचना हटाएर क्षतिपूर्ति लिन आह्वान गरिएको थियो ।
तर व्यवसायीहरूले संरचना तत्काल नहटाउन माग गर्दै स्थानीयहरूले जिल्ला प्रशासन कार्यालयमा बोधार्थ पत्र बुझाएका हुन् ।उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
‘वर्षाको मौसम सुरु भएकाले संरचनाहरू भत्काइ बनाउनु पर्ने हुँदा वर्षाले बाधा पु–याउने कतिपयको पसल नै सार्नुपर्ने अवस्था रहेको सरसामान स्टोर गर्न कठिनाइ हुने प्रत्येक वर्ष वर्षाको मौसममा बाढी आइ इटहरी बजार नै डुबानमा परी कालोपत्रे पिचमा खोला नै बग्ने गरी डुबानमा परी बजार नै अस्त व्यस्त हुने गरेको सबैले देखि भोगी आएकाछौं । यसै गरी आउँदो नेपालीहरूको महान् चाड दसैँ तथा तिहारमा व्यापारी तथा ग्राहक वर्गमा पर्न जाने असर एवं कोरोना तथा आर्थिक मन्दीका कारण चलिइरहेका व्यापारीहरू लाई थप आर्थिक भार थपिने भएको छ ।’
आयोजनालाई समेत दसैँ तिहार पछि आयोजनाको काम सुरु गर्न संघले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई उक्त बोधार्थ पत्र बुझाउँदै यस खण्डमा घर पर्ने व्यवसायी गायत्री कटुवाल भण्डारीको नेतृत्वमा गएको टोलीले दसैँ–तिहारसम्म काम रोकिनुपर्ने माग गरेको हो ।
कटुवालका अनुसार, “एसियन हाइवे जस्तो राष्ट्रिय योजना समर्थनयोग्य हो तर घर–संरचना भत्काएर जनधनको जोखिम निम्त्याउने गरी काम अघि नबढोस् भन्ने हाम्रो माग हो।” उनीहरूले बोधार्थ पत्रमा सडकको ८२.५फिट अन्तर्गत पर्ने संरचनाका छज्जी, पर्खाल तथा वालहरू भत्काउँदा कम्तीमा २ फिटसम्मलाई हेरिदिएर बचाइदिन आग्रह समेत गरिएको छ । उद्योग वाणिज्य संघ इटहरीकी पुर्ब कोषाध्यक्ष समेत रहेकी भण्डारीले मागपत्र बुझाएपछि प्रमुख जिल्ला अधिकारी मिश्रले मागलाई सकारात्मक रूपमा लिएको बताइन।
त्यस क्रममा प्रजिअ मिश्रले संरचना भत्काउने कि नभत्काउने भन्ने निर्णय आफूहरूको कार्यक्षेत्रमा नपर्ने प्रतिक्रिया दिएका थिए ।
उनले भने,हामीले मुआब्जा निर्धारण र क्षतिपूर्ति सम्बन्धी कुरा मात्र हेर्ने भएकाले आयोजना कार्यलयले नै संरचनाका विषयमा निर्णय लिने बताएका छन् ।
यता आयोजनाका इन्जिनियर पल्लभ श्रेष्ठले भने २०३४ सालमै महेन्द्र राजमार्गको क्षेत्राधिकार ५० मिटर निर्धारण गरिएको स्मरण गराउँदै सोही आधारमा संरचना हटाइनुपर्ने दाबी गरेका छन् ।
“निर्माण कम्पनीले पटक–पटक संरचना हटाइदिन पत्र पठाएको छ, तर स्थानीय अवरोधका कारण समयमा काम सम्पन्न हुनेमा चिन्ता बढेको छ,”श्रेष्ठले प्रदेश खबरसँग भने ।
स्थानीयको दसैँ–तिहारपछि मात्रै काम अघि बढाउने माग भने अझै आधिकारिक रूपमा आयोजनासमक्ष नआएको उनको भनाइ छ ।
सडकको काँकडभिट्टा–इटहरीसम्मको ९५ किलोमिटर खण्डलाई पाँच भागमा विभाजन गरिएको छ । तीन खण्ड सडक र दुई खण्ड पुल निर्माणका लागि छुट्टाइएको छ ।
पूर्वतर्फको ४५ किलोमिटर खण्ड कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ भने पश्चिमतर्फको केर्खा–गोठगाउँ खण्ड सीआरएफजी–टुण्डी जेभीको जिम्मामा छ ।
कुल लागत ३४ अर्ब ९१ करोड रुपैयाँ रहेको यो महत्त्वाकाङ्क्षी योजना एसियाली विकास बैङ्क (ADB) को ८४.१५ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको १५.८५ प्रतिशत हिस्सेदारीमा अघि बढाइएको हो।
सडक निर्माणको ठेक्का २०२४ फेब्रुअरी २ मा गरिएको हो र समाप्तिको समय सीमा २०२७ फेब्रुअरी २ तोकिएको छ ।
गुणस्तरीय काम सुनिश्चित गर्न आयोजना अन्तर्गत अन्तर्राष्ट्रियकरण कन्सल्टेन्ट परिचालित छन् । स्थानीय विवाद र प्रशासनिक निष्क्रियताका कारण इटहरी खण्डमा निर्माण कार्य अस्तव्यस्त देखिएको छ ।
जसले पनि तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने योजनालाई दबाबमा पारेको छ ।
इटहरी उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेलले आयोजनाको काम कुनै पनि हालतमा रोकिनु नहुने बताए ।
‘संरचनालाई समेत ख्यालमा राखेर हामीले कम क्षतिमा पनि काम गरेर आयोजनालाई सफल बनाउनु पर्दछ ।’ उनले प्रदेश खबरले स्थानीय निकायको धारणाका बारेमा राखेको जिज्ञासाका क्रममा भने ।
पोखरेलले आयोजना कार्यालयले नै त्यसलाई व्यवस्थित बनाएर लैजानुपर्नेमा जोड समेत दिएका छन् ।
हाइवे निर्माण कार्यमा ढिलाइ : १६ महिनामा ११ प्रतिशत मात्र प्रगति
गोठगाउँदेखि इटहरी सिप्रदीसम्मको एसियन हाइवे खण्ड अन्तर्गतको सडक निर्माण कार्य अत्यन्तै सुस्त गतिमा अगाडि बढेको छ । खण्ड अन्र्तगत १०.७६ किलोमिटरको सडकमा १६ महिनाको अवधिमा जम्मा ११ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
निर्माणको जिम्मा पाएको कोभेक–सिआइजिसी–टुण्डी जेभी ले भ्याट बाहेक ३ अर्ब ५८ करोड रुपैयाँमा ठेक्का पाएको थियो । तर हालसम्म उल्लेख्य प्रगति हुन सकेको छैन ।
बुढीखोलाको पुल पश्चिमतर्फको काम झनै ढिलो भएको प्रोजेक्ट इन्जिनियर अनीश रेग्मीले जानकारी दिए । उनका अनुसार,सम्झौता मिति भित्र निर्माण कार्य सम्पन्न हुने सम्भावना नरहेको स्पष्ट देखिएको छ ।
ढिलाइको मुख्य कारण सडक क्षेत्रभित्रका संरचना नहटाइनु र त्यससँगै विद्युत् पोल स्थानान्तरणमा देखिएको अलमल हो ।
विद्युत् प्राधिकरणलाई पोल स्थानान्तरणका लागि २ करोड २६ लाख रुपैयाँ बुझाइसकिए पनि संरचनाहरू नहटाइएसम्म काम अघि बढाउन नसकिने प्राधिकरणको भनाइ रहेको छ ।
प्रोजेक्टका आवासीय इन्जिनियर पुष्पराज भट्टले हाल माटो पुर्ने,सबबेस निर्माण,नाला,पर्खाल,कल्भर्ट निर्माण तथा बुढीखोला र गछिया खोलामा पाइलिङको काम तीव्र रूपमा भइरहेको बताए ।
निर्माण कम्पनीले मोरङको ठडियामा कार्यालय स्थापना गरी दैनिक १७० भन्दा बढी कर्मचारी तथा श्रमिक परिचालन गरिरहेको छ । तर स्थानीय बासिन्दासँगको समन्वय अभाव र निर्माण स्थलमा उत्पन्न विवादले नियमित कार्यमा अवरोध भइरहेको इन्जिनियर भट्टको भनाइ छ ।
स्थानीय तह र सरोकारवाला निकायबिच समन्वयको अभाव तथा ढिलो निर्णय प्रक्रियाका कारण एसियन हाइवेको यो खण्ड अझै अनिश्चितताको चपेटामा रहेको देखिन्छ ।
यस्तो हुने छ एसियन हाइवेको डिजाइन
एसियन हाइवे अन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक खण्डमा अत्याधुनिक पूर्वाधारसहितको स्तरीय सडक बनाउने योजना अघि बढाइएको छ।
सो सडक खण्डमा तीन वटा पुल निर्माण गरिनेछ, जसमा गछिया खोला, बुढी खोला र टेङ्ग्रा खोलामा पुल निर्माणको योजना छ। आयोजनाका अनुसार ३०० मिटरभन्दा छोटा पुलहरू सम्बन्धित ठेकेदार कम्पनीहरूद्वारा निर्माण गरिनेछन्।
सडकको चौडाइ ५० मिटर हुनेछ भने त्यसमा चार वटा ओभर पास निर्माण गरिनेछ। यी ओभरपासहरू मोरङको बाँसबारी,इटहरीको जुट विकास चोक,इटहरी मुख्य चोक र इटहरीकै कलङ्की चोकमा बन्नेछन्।
प्रत्येक ओभरपासको लम्बाइ ६०० मिटरको हुनेछ,जसले व्यस्त सहरका चोकहरूमा सवारीको सहजता र दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
सडक डिजाइन अनुसार,दायाँबायाँ ५.५ मिटरको फुटपाथ,त्यसपछि ६.५ मिटरको सर्भिस लेन राखिनेछ। बिचमा दुई वटा ७.५/७.५ मिटरको मेन लेन रहनेछ। यी मेन लेनहरूबिच ३ मिटर चौडाइको लेन सेपरेटर राखिनेछ,जसले सवारीको एकोहोरो प्रवाहमा सघाउ पुर्याउनेछ।
त्यस्तै,मोरङको गोठगाउँदेखि दुलारीसम्मको करिब ४ किलोमिटर खण्डमा भने २४ मिटर चौडाइको मात्र चार लेन सडक निर्माण गरिनेछ।
यस क्षेत्रलाई आयोजनाले ग्रामीण सडकको श्रेणीमा राखेर काम गरिरहेको प्रोजेक्ट इन्जिनियर अनीश रेग्मीले जानकारी दिएका छन्।
सडक र पूर्वाधार विकासमा गरिएको यस्तो योजनाबद्ध र प्रविधिमैत्री डिजाइनले आगामी दिनमा पूर्वी नेपालको यातायात प्रणालीलाई आधुनिक दिशातर्फ डोऱ्याउने अपेक्षा गरिएको छ।
यो पनि
प्रतिक्रिया