विराटनगर : नेपाली कांग्रेस कमजोर हुँदा मुलुकको प्रजातान्त्रिक पद्धति कमजोर हुने कांग्रेस नेता बालकृष्ण खाँडले बताएका छन् ।
बुधवार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनका क्रममा नेता खाँडले पार्टी भित्रको अनुशासनको कारबाहीले प्रक्रियागत रूपमा गरेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा नेता खाँडले अनुशासन समितिले कारबाही गर्नु र कुरा उठ्नु स्वाभाविक भएको प्रस्टाए । अनुशासन समितिले गरेको कारबाहीको मुद्दामा उनले भने, “कुनै पनि पार्टीको जिम्मेवार निकायले एक पक्षीय वा पक्षपातपूर्ण व्यवहार गर्नुहुँदैन ।
कांग्रेस मुलुकको ऐतिहासिक प्रजातान्त्रिक पार्टी हो । कांग्रेस कमजोर हुँदा नेता र कार्यकर्ता मात्र कमजोर हुँदैन, पार्टी कमजोर हुँदा मुलुकको प्रजातान्त्रिक पद्धति नै कमजोर हुनेछ।”
उनले भने, “अनुशासन समितिले काम नै गरेन भन्ने देखिँदै आएको थियो। पाँच जनाको समितिले गरेको कार्वाहीसंगै समितिले त्यसको पुष्टि गर्नेछ । समितिले कारबाहीको प्रतिवेदन केन्द्रीय समितिमा बुझाउला र त्यहाँ फेरि समीक्षा र छलफल होला।”
त्यसैगरि, उनले पार्टीको १५ औँ महाधिवेशन थप एक वर्ष लम्बिन सक्ने सङ्केत गरेका छन् । उनले भने, “पार्टी विधानले चार वर्षभित्र महाधिवेशन हुनुपर्ने राखेको छ ।
विशेष परिस्थिति हुँदा एक वर्ष थप गरि पाँच वर्षसम्ममा गर्न सकिन्छ । विगतको ११ देखि १४ औँ महाधिवेशन पनि एक वर्ष थप गरी गरिएको हो । त्यसैले अहिले हाम्रो १५ औँ महाधिवेशन पनि पार्टीको सबै तहको कार्यकाल एक वर्ष थप गरी पाँच वर्ष भित्र हुनेछ।”
पार्टी संस्थापन वा पार्टी सभापतिसँगको दुरी बढ्दै गएको विषयमा उनले सभापतिलाई सहयोग गर्दै पार्टी बलियो बनाउने बताए । विराटनगरमा डा. शेखर कोइराला निवासमा आएको विषय अर्थपूर्ण रहेकोमा उनले भने,“पार्टी नेता शेखर कोइराला यहाँ बस्नुहुन्छ । तर यहाँ पहिले बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, बुवा कृष्णप्रसाद कोइराला पनि बस्नुहुन्थ्यो । कोइराला सम्झँदा मेयर नागेश कोइराला मात्र सम्झनु भएन ।
यहाँ सबै कोइरालालाई सम्झनुपर्छ । उहाँहरूसँग भावनात्मक सम्बन्ध छ। उहाँहरू हाम्रो लागि महामानव हो । निवासलाई पार्टीको गुटको रूपमा हेर्न हुँदैन । यो हाम्रो लागि धार्मिक स्थल गएझैँ पवित्र स्थल हो।” त्यसैगरि, आउँदो ०८४ सालको आमनिर्वाचनसम्म संयुक्त सरकारलाई जोगाएर अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया