ठेकेदारले काम नगर्दा ‘एसियन हाइवे’का पोल सार्न ढिलाइ, समय सकिँदासमेत १० प्रतिशत मात्रै काम

विहीबार, ०८ साउन २०८२

इटहरी : पूर्व–पश्चिम राजमार्गकै विस्तारका रूपमा निर्माणाधीन अवस्थामा रहेको एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्डको पश्चिमी भाग इटहरीमा सडक निर्माण कार्य कछुवाको गतिमा काम भइरहेको छ ।

बहुप्रतिक्षित यो सडक खण्डमा मुख्य समस्या विद्युत् पोल नसारिएको, संरचना नहटाइएको र सम्बन्धित निकायहरूबिच समन्वयको पूर्ण अभाव देखिएको छ । यसको प्रत्यक्ष असर सडक निर्माणमा परिरहेको छ । जसका कारण निर्धारित म्यादभन्दा काम सम्पन्न गर्न कम्तीमा एक वर्ष ढिलो हुने निश्चित भएको हो । 

यो सडक विस्तार योजनाको लागि आवश्यक रहेको विद्युत् पोल सार्ने जिम्मेवारी एवान महाशक्ति जेभी नामक निर्माण कम्पनीलाई दिइएको थियो । झण्डै १३ करोड रुपैयाँको लागतमा १८ महिनाभित्र कार्य सम्पन्न गर्ने सम्झौता भएअनुसार काम सुरु भएको थियो ।

सम्झौता अनुसार काम सन् २०२४ को फेब्रुअरीमा सुरु भई २०२५ अगस्टसम्ममा पूरा गर्नुपर्ने थियो । तर, एक वर्ष बितिसक्दा समेत कम्पनीले जम्मा १० प्रतिशतभन्दा पनि कम काम सम्पन्न गरेको देखिँदैन । अहिलेको प्रगतिको अवस्था हेर्दा म्यादभन्दा कम्तीमा एक वर्ष ढिला हुने प्रष्ट भइसकेको छ ।

'एवान महाशक्ति जेभी'ले उर्लाबारीदेखि इटहरीसम्मको खण्डमा पुराना पोल हटाएर नयाँ पोल राख्ने, ट्रान्सफर्मर स्थानान्तरण गर्ने, लाइन विस्तार गर्ने लगायत सम्पूर्ण कार्यहरू सम्पन्न गर्नुपर्ने जिम्मेवारी लिएको हो । तर, कामको गति अत्यन्तै सुस्त रहेको छ ।

सडक निर्माणको मुख्य जिम्मा पाएको 'कोभेक–सिआरइजिसी–तुन्दी जेभी'ले गोठगाउँदेखि इटहरीसम्मको करिब १२ किलोमिटर खण्डमा सडक बनाउनु थियो। तर, पोल नहटाइएकाले निर्माण कम्पनी काम अगाडि बढाउन असमर्थ छ ।

कोभेकका प्रोजेक्ट म्यानेजर अनिश रेग्मी भन्छन्,‘वर्तमान अवस्थामा सडकको काम पूर्ण रूपमा सुरु गर्नुपर्ने समय हो । तर, न पोल सरेको छ, न घरको संरचना हटाइएको छ । यस्तो स्थितिमा हामीले सडक निर्माण कसरी अघि बढाउने ? रेग्मीका अनुसार विद्युत् पोल सार्ने नाममा एवान महाशक्ति जेभीले  २ करोड २६ लाख रुपैयाँ एडभान्समा लिइसकेको छ । 

तर, हालसम्म जम्मा ५० लाख रुपैयाँ बराबरको काम पनि सम्पन्न नभएको उनी बताउँछन् । उनका अनुसार ६६० ओटा पोल सारेर नयाँ पोल राख्नुपर्ने भए पनि अहिले सम्म ३० वटा पोल पनि सरिएको छैन ।

यो सडक निर्माण योजनाको प्रभाव क्षेत्रमा पर्ने इटहरी उपमहानगरअन्तर्गतका १ सय २४ वटा घर तथा संरचना हटाउनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले असार १६ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरिसकेको छ । सूचना अनुसार म्याद सकिएपछि अब स्थानीयहरू आफैँले घर हटाउने काम सुरु गरेका छन् । तर, घर हटाउने काममा समेत विद्युतका तारहरूले ठूलो बाधा सिर्जना गरिरहेको छ । 

इलाका प्रहरी कार्यालय इटहरीअगाडि केही घर भत्काउने जिम्मा पाएका ठेकेदार प्रकाश कोइरालाले तारको झुन्डका कारण काम गर्न मजदुरहरू हिच्किचाउने गरेको बताए ।

उनले भने, ‘हामीले भत्काउने जिम्मा त लियौँ । तर, माथिबाट झुण्डिएको तारका कारण मजदुरको सुरक्षाको समेत ग्यारेन्टी छैन ।’

यता, नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरका इन्जिनियर साजन महर्जनका अनुसार पोल सार्ने काममा ढिलाइ हुनुको मुख्य कारण पोल हटाउने जिम्मा पाउने ठेकेदार कम्पनीको गैरजिम्मेवार व्यवहार हो । ‘हामीले पटक–पटक ताकेता गरिसकेका छौँ । काम सुरु त भएको छ । तर, स्कोप ठूलो भएकाले मात्र विद्युत् प्राधिकरणको तर्फबाट सकिने अवस्था छैन,’ उनले भने । 

उनका अनुसार पोल सार्ने मात्र होइन, नयाँ पोल राख्ने, तार सर्ने र ट्रान्सफर्मर जडानको काम समेत एवान महाशक्तिलाई नै जिम्मा दिइएको हो । उनले थपे, ‘घर भत्काउने कार्य सिधा विद्युत् सञ्जालसँग सम्बन्धित नभए पनि समन्वयविना काम हुन सक्दैन ।’

यसबिचमा एवान महाशक्ति जेभीका प्रतिनिधि प्रकाश बरालसँग पटक–पटक सम्पर्क गर्दा पनि उनले प्रतिक्रिया दिन मानेनन् । सुरुमा ‘समाचारका लागि कुरा गरौँ’ भनिएपछि उनले फोन काटेका थिए । त्यसपछि पटक–पटक सम्पर्क गर्दा फोन उठाएनन् । 

सडक विस्तार नहुँदाको पीडा झेलिरहेका स्थानीयवासी दिनहुँ धुलो, हिलो र सवारी जामको सङ्कटमा पिल्सिएका छन्। दैनिक आवतजावत, व्यापारिक गतिविधि र अत्यावश्यक सेवासमेत प्रभावित हुँदा जनजीवन कष्टकर बन्दै गएको छ।

समयमा सडक विस्तार सम्पन्न हुने आशामा बसेका नागरिकको त्यो अपेक्षा सरकारी निकायबिचको समन्वयहीनता, ठेकेदारको लापरबाही र कमजोर कार्यान्वयनले थप निराश बनाउँदै लगेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टादेखि इटहरीसम्मको ९५ किलोमिटर सडक खण्डलाई पाँच भागमा विभाजन गरी निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ। तीमध्ये तीन खण्ड सडक निर्माणका लागि र बाँकी दुई खण्ड पुल निर्माणका लागि छुट्टाइएको छ।

पूर्वतर्फको ४५ किलोमिटर खण्ड (काँकडभिट्टा–केर्खा) को जिम्मा कालिका कन्स्ट्रक्सनले लिएको छ भने केर्खादेखि गोठगाउँसम्मको निर्माण कार्य सिआरएफजी–तुण्डी जेभीले गरिरहेको छ।

 मोरङको कानेपोखरी क्षेत्रअन्तर्गत सडक निर्माणको दोस्रो खण्डमा १० किलोमिटर भागमा कालोपत्रेको कार्य सुरु भइसकेको छ। गोठगाउँदेखि इटहरीसम्मको अन्तिम खण्डको निर्माण भने कोभेक सिआइजिसी–तुण्डी जेभीले गरिरहेको छ।

तेस्रो खण्डअन्तर्गत गोठगाउँदेखि इटहरीसम्मको क्षेत्रका सडकमा पर्ने संरचना हटाउन जिल्ला प्रशासन कार्यालय, सुनसरीले ३५ दिने सूचना जारी गरेसँगै अहिले तीव्ररूपमा घर तथा संरचना भत्काउने काम सुरु गरिएको छ। 

उक्त सडक आयोजना सन् २०२४ फेब्रुअरी २ मा सम्झौता गरिएको हो भने निर्माण सम्पन्न गर्ने म्याद सन् २०२७ फेब्रुअरी २ तोकिएको छ। 

 नेपाल हुँदै पूर्व–पश्चिम अन्तर्राष्ट्रिय सम्पर्क

एसियन हाइवे (AH42) नेपालको लागि मात्र नभई सम्पूर्ण दक्षिण–पूर्व एसियाका लागि आर्थिक तथा भौगोलिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

यो मार्ग चीन, भारत, बङ्गलादेश र पाकिस्तानजस्ता मुलुकसँग व्यापारिक सहकार्य बढाउने सेतुका रूपमा कार्य गर्दै आएको छ।

नेपालभित्र यो हाइवे काँकडभिट्टाबाट सुरु भई इटहरी, इनरुवा, विराटनगर, जनकपुर, चन्द्रनिगाहपुर, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल हुँदै नेपालगन्ज र महेन्द्रनगरसम्म फैलिएको छ।

यस आयोजनाको सफल कार्यान्वयनले नेपालमा व्यापारिक सम्भावनाहरूमा नयाँ ढोका खोल्नेछ, साथै स्थानीयवासीको यातायात सुविधा पनि सहज र द्रुत हुनेछ

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार