काठमाण्डाै : मनाङमा यार्सागुम्बा खोज्ने क्रममा भीरबाट खसेर ज्यान गुमाएका युवकको शव निकाल्न गएको सुरक्षा टोली रित्तै फर्किएको छ ।
नार्पाभूमि गाउँपालिका वडा नम्बर २ नाम्के खर्कको हुलाकी ओडारमाथि यार्सागुम्बा टिप्न गएका धादिङका आकाश तामाङको ज्यान गएपछि शव निकाल्न टोली खटिएको थियो । धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्बर १ का तामाङ वैशाख १६ गते नै भीरबाट खसेकामा प्रहरीले १९ गतेमात्रै खबर पाएको हो ।
उद्धारका लागि सुरक्षा टोली खटाएकोमा कठिन भूगोलका कारण शव निकाल्न सम्भव नभएको मनाङका प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिनुभयो ।
मनाङसहित मुस्ताङका उच्चलेक तथा पाटनमा पनि यार्सागुम्बा सङ्कलन शुरू भएको छ । मुस्ताङको थासाङमा रहेको कोवाङ र टुकुचेको उच्चलेक तथा पाटनमा यार्सा सङ्कलन शुरू भएको संरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले जानकारी दिनुभयो ।
यस्तै डोल्पाका पाटनहरूमा भने आउँदो जेठ ५ गतेदेखि मात्रै यार्सा सङ्कलन फुकुवा हुने भएको छ । सर्वपक्षीय बैठकले जेठ ५ गतेदेखि सबै पाटनहरू खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।
बैठकले पाटनमा सामुदायिक वन उपभोक्ता समितिबाट माग भएमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरी परिचालन गर्नेसमेत निर्णय गरेको उहाँले बताउनुभयो ।
हरेक वर्ष मनाङ, मुस्ताङ, डोल्पालगायत जिल्लाका उच्च भूभागमा यार्सा खोज्नेहरूको भीड लाग्ने गर्दछ । यार्सा सङ्कलनका क्रममा लेक लाग्ने, लड्नेदेखि झैझगडा र यार्सा लुटपाट गर्नेसम्मका घटना हुने भएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमार्फत सुरक्षाको प्रबन्ध गर्ने व्यवस्था छ ।
प्रतिक्रिया