रिंकु सदा मृत्यु प्रकरणका अभियुक्त सार्वजनिक

शुक्रबार, २३ फागुन २०८१
सिरहा : सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शङ्कास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालयले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार हालसम्म आठ जना पक्राउ परेका छन् भने चार जना फरार छन् । पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विश्वेश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, राम विनोद मण्डल र कमलेश दास छन् । त्यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विश्वेश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्यको जाहेरीमा नाम उल्लेख नभए पनि पञ्चायतीमा भूमिका देखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । अभियुक्तमध्येका चन्देश्वर, राम विनोद र कमलेशलाई प्रहरीले फागुन ११ मै पक्राउ गरेको थियो । त्यसै गरी बलात्कारका मुख्य अभियुक्त रुपेश गत २१ गते पक्राउ परेका थिए । अन्य चार जनालाई लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रनाउ पासवानका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ भने फरार अभियुक्तको खोजी भइरहेको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार