आर्मीलाई हराउँदै एपीएफले जित्यो इलाममा जारी अन्तर्राष्ट्रिय महिला गोल्डकपको उपाधि

शनिबार, २४ फागुन २०८१
इलाम:  इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि एपिएफले जितेको छ । शनिबार भएको फाइनल खेलमा विभागीय टोली आर्मीलाई २-१ गोल अन्तरले हराउँदै अर्को विभागीय एपिएफले उपाधि कब्जा गरेको हो । सुरुवात बाट नै आर्मी विरुद्ध हाबी भएको एपिएफले खेलको २५ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अग्रता लिएको थियो । एपिएफकी सविता रानालाई आर्मीको डी बक्स एरियामा फल्ड गरेपछि पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै गोल गरिन् । पहिलो हाफमा १ गोल गरेको एपिएफले दोस्रो हाफमा पुनः गोल गर्दै अग्रतालाई दोब्बर बनायो । दोस्रो हाफमा एपिएफकी सविता राना मगरले गोल गर्दै अग्रतालाई दोब्बर बनाइन् । आर्मीले दोस्रो हाफमा सान्त्वना गोल फकार्एको थियो । आर्मीको लागि फरवार्ड बिमला चौधरीले गोल गरिन् । उपाधि सँगै एपिएफले नगद ४ लाख र ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले नगद २ लाख प्राप्त गर्यो । आजको खेलको प्लेयर अफ दी म्याच एपिएफकि सविता राना मगर घोषित भइन् । उनले नगद ५ हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरिन् । उत्कृष्ट गोल रक्षक आर्मीकी अञ्जना राना घोषित बन्दा १० हजार र ट्रफी प्राप्त गरिन् । उत्कृष्ट डिफेन्डर बनेकी आर्मीकै बिमला विकले पनि नगद १० हजार र ट्रफी प्राप्त गरिन् । त्यस्तै सर्वाधिक गोलकर्ता एपिएफकी रश्मि कुमारी घिसिङले नगद १० हजार र ट्रफी प्राप्त गरिन् । खेलको उत्कृष्ट मिडफिल्डर एपिएफकी रेणुका नगरकोटीले पनि १० हजार सहित ट्रफी प्राप्त गरिन् । सर्वोत्कृष्ट खेलाडी एपिएफकी अनिता बस्नेतले १५ हजार र ट्रफी प्राप्त गरिन् । ओएसिस क्लब इलामको आयोजनामा गत फागुन १७ गतेबाट सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा ८ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार