पाँचथर : इन्ट्रा पथरी फुटबल क्लब मोरङ पाँचथर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
शनिवार भएको उद्घाटन खेलमा आयोजक पाँचथर क्लबलाई २–० गोल अन्तरले हराउँदै पथरीले पाचौं अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकपमा विजय यात्रा सुरु गरेको हो ।
खेल सुरु भएको ५ मिनेटमै पथरीका सनम धिमालले गोल गर्दै आफ्नो टिमको खाता खोलेका थिए । दोस्रो गोल पहिलो हाप पछिको अतिरिक्त समयमा अङ्कित लिम्बूले गरे ।
विदेशी खेलाडी सहित घरेलु मैदानमा उत्रेको पाँचथर क्लबले पथरी विरुद्ध गोल गर्ने मौका पटक पटक गुमाएसँगै उद्घाटन चरणमै स्तब्ध भयो ।
शनिवारको प्रतियोगितामा पथरीका समीर क्षेत्री उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ७ हजार पाँच सय सहित पुरस्कृत भए ।
सदरमुकाम फिदिम स्थित फिदिम माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका ए डिभिजन र विभागीय क्लब गरी ८ टिम सहभागी रहेका छन् ।
आइतबार चर्च व्याज क्लब र हिल्स एकेडेमी भारत बिच प्रतिस्पर्धा हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।
यस संस्करणका विजेतालाई ११ लाख १ हजार १ सय ११ रुपैंया पुरस्कार सहित ट्रफि मेडल र प्रमाण पत्र दिइने अध्यक्ष तुम्रोकले जानकारी दिए ।
प्रतियोगिताको उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैंया पुरस्कार प्राप्त गर्ने छ ।
गोल्डकपको उद्घाटन फिदिम नगरपालिकामा मेयर मित्रप्रसाद काफ्लेले गरेका थिए ।
प्रतिक्रिया