बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए विनय नरवाल

बुधबार, १० बैशाख २०८२

काठमाडौँ । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा परी भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको ज्यान गएको छ।

उनको विवाह यही अप्रिल १६ मा सम्पन्न भएको थियो भने विवाहपछिको रिसेप्शन अप्रिल १९ मा गरिएको थियो। उनी हनिमून मनाउन आफ्नी श्रीमतीसँग कश्मीर गएका थिए।

विनयका हजुरबुबा हवा सिंह नरवालका अनुसार स्विट्जरल्याण्ड जान चाहेपनि भिसा नपाएकाले उनीहरू कश्मीर गएका थिए।

विनय हरियाणाको कर्नाल जिल्लाका बासिन्दा थिए र दुई वर्षअघि मात्र भारतीय नौसेनामा भर्ना भएका थिए। हाल उनी कोच्चीमा पोस्टेड थिए। बी.टेक सकेपछि उनी नौसेनामा प्रवेश गरेका थिए।

भारतीय नौसेनाले एक विज्ञप्ति जारी गर्दै पहलगाममा भएको आक्रमणलाई कायरतापूर्ण भनेको छ र लेफ्टिनेन्ट विनय नरवालको मृत्युले नौसेनाका प्रमुख एडमिरल दिनेश त्रिपाठीसहित सम्पूर्ण नौसेना परिवार शोकमा डुबेको जनाएको छ।

विनय आफ्नो परिवारका एकमात्र छोरा थिए। उनकी एक कान्छी बहिनी युपीएससीको तयारीमा जुटिरहेकी छिन्।

यो आक्रमण पहलगामको बैसरन उपत्यकामा भएको हो, जसलाई कश्मीरको ‘मिनी स्विट्जरल्याण्ड’ पनि भनिन्छ। मंगलबार भएको आक्रमणमा दुई विदेशी नागरिकसहित २८ जनाको ज्यान गएको छ, जसमा भारतबाहिरका दुईमध्ये एक नेपाली नागरिकसमेत थिए।

विनय नरवालको परिवार कर्नालको भुस्ली गाउँका हुन् र हाल कर्नाल शहरको सेक्टर ७ मा बसोबास गर्छन्।

उनका पारिवारिक साथीका अनुसार उनले विवाह अगाडि नै हनिमूनको लागि जम्मू कश्मीर जाने योजना बनाएका थिए। विनयको जन्मदिन मे १ मा पर्दथ्यो र हनिमूनबाट फर्केपछि जन्मदिन परिवारसँग मनाउने योजना बनाएका थिए।

सो आक्रमणपछि सामाजिक सञ्जालमा एक मार्मिक तस्बिर पनि भाइरल भएको छ, जसमा विनय नरवालको शव नजिकै उनकी श्रीमती हिमांशी मौन बसिरहेकी देखिन्छन्।

हिमांशी गुरुग्रामकी हुन् र पीएचडी गर्दैछिन्। उनका बुबा जीएसटी विभागमा सुपरिटेन्डेन्ट हुन् भने हजुरबुबा प्रहरी सेवाबाट अवकाशप्राप्त छन्।

बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै विनयका हजुरबुबा हवा सिंह नरवालले हमलाका दोषीलाई कडा सजाय दिनुपर्ने माग गरेका छन्।

उनले भावुक हुँदै भने, “यदि उनलाई गोली नलागेको भए, उनले दुई वा चार आतंककारी मार्न सक्थे। म चाहन्छु, उनको मृत्युको बदला अवश्य लिइयोस्।”

विनयको निधनपछि उनको घरमा श्रद्धाञ्जली दिन आउनेहरूको घुइँचो लागेको छ। स्थानीय विधायक जगमोहन आनन्दसहित धेरै नेताहरू शोक व्यक्त गर्न पुगेका छन्।

आनन्दले घटनाले सम्पूर्ण देशलाई आक्रोशित बनाएको भन्दै दोषी आतंककारीहरूलाई एक-एक गरेर कारबाही गरिने बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो घटनालाई गम्भीर रूपमा लिँदै आफ्नो साउदी अरेबिया भ्रमण बीचमै छाडेर स्वदेश फर्किएका छन्।

उनले यस आक्रमणलाई आतंकवादी हमला भनी निन्दा गर्दै दोषीलाई उन्मुक्ति नदिइने बताएका छन्।

जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यसलाई पछिल्ला वर्षहरूमा कश्मीरमा सर्वसाधारणलाई लक्षित गरी गरिएको सबैभन्दा ठूलो आक्रमण भनेका छन्।

आक्रमणमा परी धेरै जना घाइते भएका छन् र घाइतेहरूलाई अनन्तनागको सरकारी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार