कानुन उल्लङ्घन गरेको आरोपमा दक्षिण कोरियाले निकाल्यो तीन नेपाली

आइतबार, ०८ असार २०८२

काठमाडौँ : दक्षिण कोरियाले अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा तीन जना नेपालीलाई निष्कासन गरेको छ।

देवान, सिंह र गौतम थर भएका ती तीन जनालाई गत साता थाई एयरवेजको विमानमार्फत काठमाडौँ पठाइएको एक स्रोतले जनाएको छ। यद्यपि, उनीहरूलाई निष्कासन गर्नुका विस्तृत कारण खुलाइएको छैन।

दक्षिण कोरिया नेपालीहरूको एक प्रमुख वैदेशिक रोजगारी गन्तव्य हो। लाखौँ नेपाली ‘इपिएस’ भाषा परीक्षा दिएर त्यहाँ वैधानिक रूपमा पुग्ने गर्दछन्। तर केही नेपालीहरू गैरकानुनी बाटो र अवैध गतिविधिमा संलग्न भई कोरियन अध्यागमनको कारवाहीमा पर्ने गरेका छन्।

यसअघि पनि जेठको पहिलो साता एकैपटक १० जना नेपालीलाई कोरियाबाट निष्कासन गरिएको थियो। त्यहाँ कार्यरत एक नेपालीका अनुसार, अध्यागमन कानुन उल्लङ्घन, भिसा अवधि ननविकरण, अवैध कामकाज र आपराधिक संलग्नतामा पाइएमा कोरियन सरकारले कडाभन्दा कडा निर्णय गर्ने गरेको छ।

विशेषज्ञहरू भन्छन्, वैदेशिक रोजगारीको सम्भावना खोज्न कोरिया जाने नेपालीहरूले कोरियाको कानुन, श्रम नीति तथा अध्यागमन प्रणालीको स्पष्ट जानकारी लिएर मात्र अघि बढ्नुपर्ने आवश्यकता छ। अन्यथा यस्ता निष्कासनका घटनाले व्यक्तिगत क्षति त हुन्छ नै, नेपालको वैदेशिक श्रम बजारको छवि पनि धमिलिन्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार