कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दिदीको मृत्यु, भाइ गम्भीर घाइते

बुधबार, १० बैशाख २०८२

कानेपोखरी : मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ भने एक पुरुष घाइते भएका छन्।

झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को १ ख ७४८२ नम्बरको बस ले विपरीत दिशाबाट आइरहेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार उदयपुर बेलका नगरपालिका–४ की करिब ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो। शव पोस्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल लगिएको छ।

मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का करिब ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन् र उनलाई उपचारका लागि विराटनगर पठाइएको छ।

प्रहरीका अनुसार मृतक र घाइते दिदी–भाइ हुन्। बस चालक झापा कनकाई नगरपालिका–४ का ५१ वर्षीय सुमनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार