प्रमुख प्रशासकीयको विषयलाई लिएर विराटनगरमा हलचल, के थियो इटहरीको विवाद ?

बुधबार, १० बैशाख २०८२


विराटनगर : विवादित छवि बनाएर इटहरी उपमहानगरपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता अढाई महिना नपुग्दै कोशी प्रदेशको एक मात्र महानगरपालिका विराटनगरमा सरुवा भएपछि हलचल ल्याएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीयलाई हाजिर गर्न नदिने तयारीमा जनप्रतिनिधि रहेका छन् । मन्त्रालयले मङ्गलवार ४७ जना सहसचिवको सरुवा गरेको थियो । जसअन्तर्गत विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा रामचरित्र मेहता आउने भएका हुन् । 

मेहता इटहरीबाट सरुवा भएर युवा तथा खेलकुद मन्त्रालय पुगेका थिए । मन्त्रालयमा अढाई महिना पनि नबिताएका मेहताले विराटनगर आउनका लागि ठुलै राजनीतिक शक्ति प्रयोग गरेको श्रोतको दाबी छ । श्रोत भन्छ, ‘मेहताले विराटनगर आउनका लागि ठुलो शक्ति प्रयोग गरेका थिए ।’

मेहताको सरुवालाई लिएर विराटनगरका मेयरलगायतका जनप्रतिनिधि रुष्ट बनेका छन् । सल्लाह नगरी मन्त्रालयले मन खुसी प्रमुख प्रशासकीय पठाएकाले मेहतालाई स्वीकार गर्न नसकिने मेयर नागेश कोइरालाले बताए । 

इटहरी हुँदा उनी विवादमा तानिएको कोइरालाको दाबी छ । पटक–पटक विवादमा परेको भन्दै मेयर, उपमेयरसहितका जनप्रतिनिधिले उनलाई विराटनगर हाजिर हुन नदिने तयारी गरेका हुन् । मेहताले आफूसँग सहमतिसमेत नलिई सरुवा मागेको र कार्यशैली ठिक नदेखिएकोले स्विकार्न नसकिने कोइरालाको भनाई छ । 

मन्त्रालयले समेत प्रमुख प्रशासकीय अधिकृत पठाउँदा एक पटक पनि समन्वयन नगरेको गुनासो उनले गरेका छन् । आफूहरूलाई काम गर्ने कर्मचारी चाहिएको बताउँदै मेयर कोइरालाले ‘सेटिङ’मा प्रमुख प्रशासकीय पठाइएकाले चुप लागेर नबस्ने अडान लिए । 

‘प्रमुख प्रशासकीय अधिकृत पठाउँदा १ पटक हामीसँग त समन्वय गर्नु पर्छ नि । न मन्त्रालयले गर्यो । न त सचिवले नै,’ उनी भन्छन्, ‘मेयर र जनप्रतिनिधिसँग एक वचन पनि नसोध्ने ? अनि माथिबाट ‘सेटिङ’ गरेर पठाइदिएपछि हामीले स्विकार्नु पर्ने ? हामी काम गर्ने जनप्रतिनिधिलाई सहज खालको प्रमुख प्रशासकीय आवश्यक परेको छ ।’

विशेष गरेर मेहता इटहरीमा विवादित बनेकाले पनि विराटनगरमा स्वीकार गर्न गाह्रो परेको महानगरका कर्मचारीहरूको बुझाइ छ । एक जना कर्मचारी भन्छन्, ‘इटहरीमा हुँदा विवाद सिर्जना गर्ने मुख्य भूमिकामा रहेका व्यक्तिलाई अहिले फेरि विराटनगरको प्रमुख प्रशासकीय बनाएर पठाउने काम भयो । मेयर र उपमेयरसहितका जनप्रतिनिधिले खुलेर विरोध गरिरहेका छन् ।’ 

जनप्रतिनिधिहरूले बरु अरूलाई नै प्रमुख प्रशासकीय बनाएर पठाउनुपर्ने माग गरेका छन् । तर, प्रमुख प्रशासकीय पठाउन लाग्दा एक पटक भए पनि सोध्नुपर्ने उनीहरूको भनाइ छ । ‘यो मान्छेलाई पठाउन लाग्यौँ । काम गर्न सकिन्छ कि सकिँदैन भनेर सोध्नु पर्दैन ?,’ मेयर कोइराला भन्छन्, ‘काठमाडौंबाट जे गरे पनि हामीले ठिक भन्नुपर्ने ? त्यो कदापि हुँदैन ।’ 

मेहताले भने आफूलाई हाजिर हुन नदिने कुरा सुनेर आश्चर्य लागेको बताए । ‘किन उहाँहरूले त्यस्तो कुरा गर्नु भयो ? मैले बुझ्न सकेको छैन,’ उनी भन्छन्, ‘सरुवा मसँग जोडिएको विषय हैन । संघीय सरकारले गरेको हो ।’ 
 
संघीय सरकारले दरबन्दी मिलान गरेकाले महानगरमा हाजिर हुन नदिने भन्ने कुरा नहुने मेहताको भनाइ छ । ‘म विराटनगरकै मान्छे हुँ । आफ्नै माटो र यहीँका लागि केही गर्नुपर्छ भन्ने लागेको छ । म विराटनगर हाजिर हुँदा कसैलाई केही अप्ठेरो हुन्छ होलाजस्तो लाग्दैन,’ उनले भने । 

के थियो इटहरीको विवाद 
इटहरीमा रहँदा मेहताले योजनाको भुक्तानीका लागि उचित पहल गर्न सकेनन् । जसका कारण अहिले पनि अघिल्लो वर्षकै झण्डै ३० करोड बढि रकम भुक्तानी दिन नसक्दा  इटहरी जर्जर बनेको छ ।  

इटहरीका मेयर हेमकर्ण पौडेलसँगको सम्बन्ध भने राम्रै बनाएका मेहताले मेयरकै इसारा अनुसार चल्ने गरेको आरोप समेत लाग्यो ।

इटहरीमा रहँदा  ४ ओटा विद्युतीय नगर बसहरू खरिद गर्ने क्रममा मोटो रकम कमिसन खाएको समेत मेहतालाई आरोप लाग्ने गरेको छ ।

२०६९ सालमा प्रशासन तर्फबाट मधेशी कोटामा नाम निकालेका मेहता २०७९ सालमा शिक्षा समूहबाट सहसचिवमा बढुवा भएका थिए ।

विवादमा मुछिएका महतालाई इटहरीमा उपमेयर संगिताकुमारी चौधरीको अध्यक्षतामा बसको कार्यपालिका बैठकले कारबाहीको समेत सिफारिस गरेको थियो । 

कर्मचारीको आन्दोलनलाई उकासेको जथाभाबी कर्मचारी सरुवा गरेर कर्मचारीको सर्भर समेत डाउन गराएको विषय उनीमाथि छ । 

अर्कोतर्फ विद्यालयको पोसाक खरिदको सन्दर्भमा समेत इटहरीका मेयर हेमकर्ण पौडेलसँग मेहताको नाम इटहरीकै उपमेयर चौधरीले जोडेकी थिइन् ।


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार