सुनसरीमा जङ्गलभित्र छाडिएको कारबाट हतियार बरामद

सोमबार, ०९ असार २०८२

सुनसरी : सुनसरीमा जङ्गलभित्र छाडिएको एउटा कारबाट अत्याधुनिक हतियार बरामद भएको छ । 

बराहक्षेत्र नगरपालिका–५ अमहा सिमसार जङ्गलस्थित भित्री सडक खण्डमा सोमबार बिहानका राति भेटिएको कारभित्र राइफल फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार धरानबाट कालाबञ्जारतर्फ आउँदै गरेको बा ६ च ८४०३ नम्बरको कालो रङ्गको कारलाई प्रहरीले शङ्का लागेर राति करिब १ बजेतिर रोक्न खोजेको थियो । 

प्रहरीलाई देख्नसाथ कार छाडेर मानिसहरू फरार भएका थिए । कारभित्र रहेका ४–५ जना व्यक्तिहरू फरार भएको डीएसपी खतिवडाले बताए ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको इन्स्पेक्टर दिवस कुँवर नेतृत्वको टोलीले कार खानतलासी गर्दा ‘मेडइन इङल्याण्ड’ लेखिएको राइफल फेला परेको हो । सडकमै कार छाडेर त्यहाँभित्र रहेकाहरू भागेपछि प्रहरीले जङ्गलमा पनि ‘सर्च’ गरेको थियो । 

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले भागेकाहरू हालसम्म फेला नपरेको र खोजी तीव्र पारिएको बताए । कार र हतियारलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान अघि बढाइएको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार