काठमाडौं : संघीय राजधानी काठमाडौंमा तीन सातादेखि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकहरूले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् ।
आन्दोलनको २३औं दिन आज सरकारविरुद्धको प्रदर्शनका क्रममा उनीहरूले सडकमै रक्तदान गरेका छन् ।
यसअघि उनीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गर्ने र सडकमै नाचगान गर्ने गर्दथे ।
शिक्षक र कर्मचारीमैत्री एन जारी गर्न माग गर्दै उनीहरु चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।
शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएका छन् ।
उनीहरुको आन्दोलनले नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन ।
आज वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्याइएको छ ।
गत चैतमा भएको एसईई परीक्षाको उत्तरपुस्तिका समेत परीक्षण सुरु नहुँदा नतिजा ढिलो प्रकाशित हुने सम्भावना छ ।
प्रतिक्रिया