जनकपुर : वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट मधेश प्रदेशका विभिन्न जिल्लाका आठ जना किशोरहरुको उद्धार गरी आफन्तलाई जिम्मा लगाइएको छ ।
राम्रो तलब पाउने प्रलोभन देखाई बन्धक बनाएर नेटवर्किङ विजनेसको तालिम दिइरहेको बेला, उद्धार गरिएको आठ जनासहित पाँचसय जना बढी व्यक्तिहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई पक्राउ गरी छानविन गर्दा सबै बालक १८ वर्ष भन्दा कम उमेरको र प्रलोभनमा परेर आएको खुलासा भएको थियो । त्यसपछि उनीहरुलाई भारतस्थित एक सुधारगृहमा लगेर राखिएको थियो ।
जानकारी अनुसार भारतको दिल्लीस्थित किन इन्डिया संस्थाका नवीन जोशी र मधेश प्रदेशस्थित राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत संजीव महतोको पहलमा बिहीबार ती किशोरहरुको उद्धार गरी परिवारजनको जिम्मा लगाइएको छ ।
उद्धार गरिएका किशोरहरु धनुषाको जनकपुरधाम वडा नं. २० रुपैठाका १४ वर्षीय अताबुल राइन, धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं २ का १६ वर्षीय मुस्तफा राइन, धनुषाकै धनुषाधाम नगरपालिका वडा नं २ जुगेश्वरपुरका १७ वर्षीय लक्ष्मण कुमार मण्डल, धनुषाकै धनौजी गाउँपालिका वडा नं ०५ का १७ वर्षीय सलाउदिन राइन, धनुषाकै जनकपुरधाम उपमहानगरपालिका वडा नं २० रुपैठाका १७ वर्षीय मो।दिलसाख शेख रहेका छन् ।
त्यस्तै महोत्तरीको पररिया थाना कांतिबजारका १६ वर्षीय अमरेश कुमार र महोत्तरीकै जलेश्वर नगरपालिका वडा नं ०७ का १४ वर्षीय रवि किसन महरा रहेका छन् ।
त्यस्तै, नरह गाउँपालिका वडा नं १ का १६ वर्षीय प्रविण कुमार दासको पनि उद्धार गरिएको राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत संजीव महतोले जानकारी दिए ।
उद्धार गरिएका किशोरहरुसहित ५६८ जनालाई रक्सौलस्थित दुईवटा नीजि अपार्टमेन्टमा राखेर नक्कली कम्पनी वीनमेकरको आडमा नेटवर्किङ विजनेसको तालिम दिइरहेको अवस्थामा फेला परेका थिए ।
उनीहरुलाई सो नक्कली कम्पनीका कर्मचारीहरुले अन्य चिनजानकाहरुलाई राम्रो पैसा कमाउने प्रलोभन दिएर रक्सौल बोलाउन लगाउने कार्य गराएको किन इन्डिया संस्थाका नवीन जोसीले जानकारी दिए ।
प्रतिक्रिया