काठमाडौं । विकासशील मुलुकहरूको आर्थिक समृद्धिलाई टेवा दिने उद्देश्यले सुरु गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अमेरिकाले बन्द गर्ने तयारी थालेको छ । संघीय खर्च कटौती गर्ने योजनाअन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको सरकारी कार्यक्षमता विभाग (डिपार्टमेन्ट अफ अप्टिमाइजेसन अफ गवर्नमेन्ट-डोज) ले यो निर्णयको सुरुवात गरेको सीएनएनले उल्लेख गरेको छ ।
एजेन्सीका कर्मचारीहरूलाई मंगलबार इमेलमार्फत जानकारी दिइएको छ, जसअनुसार मे ५ बाट अधिकांश कर्मचारीलाई ‘अनपेड लिभ’ मा राखिनेछ । कार्यवाहक प्रमुख कार्यकारी (एक्टिङ्ग सीईओ) बाहेक अन्य सबै कर्मचारी हटाउने तयारी गरिएको छ । यो सूचना डोजले एमसीसीको नियन्त्रण लिन थालेको एक हप्तापछि आएको हो ।
एमसीसी नेपालमा पनि हालसालै सञ्चालनमा आएको छ, तर यसले नेपालको परियोजनामा के असर पार्नेछ भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी दिइएको छैन । अमेरिकी प्रशासनको यो कदमलाई पोलिटिको अनलाइनले अमेरिकी विदेश सहायता कार्यक्रममाथिको पछिल्लो प्रहारको रूपमा हेरेको छ । यसअघि यूएसएआईडी पनि यस्तो प्रहारको सिकार भइसकेको थियो ।
एमसीसीले हालसम्म ४० भन्दा बढी विकासशील देशहरूसँग सहकार्य गर्दै आएको थियो, र वर्तमानमा २० देशमा करिब ५.४ अर्ब डलर बराबरको परियोजना कार्यान्वयन चरणमा छन् । अमेरिकी कांग्रेसले सन् २००४ मा स्थापना गरेको यो एजेन्सीलाई विश्वकै पारदर्शी द्विपक्षीय सहयोग निकायको रूपमा चिनिन्छ ।
एमसीसी परियोजना बन्द भएमा नेपालजस्ता मुलुकमा पूर्वाधार विकास र आर्थिक सुधारको लक्ष्यमा गम्भीर असर पर्न सक्ने विश्लेषण गरिँदैछ । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भनेर लामो समसम्म विवाद र बहस भएको थियो ।
प्रतिक्रिया