विषादी सेवन गरेका पुरुषको मृत्यु, नोबेल अस्पतालमा हुलदंगा र तोडफोड

शुक्रबार, १२ बैशाख २०८२

विराटनगर । झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका पुरुषको मृत्यु भएपछि विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज (शुक्रबार) बिहानका राति तनावग्रस्त बनेको छ । 


आक्रोसित भिडले अस्पतालमा हुलदंगा एवं तोडफोड गरेको छ । हुलदंगा हुन थालेपछि उपचारका लागि भर्ना गरिएका बिरामी र आफन्त त्रसित बनेका थिए । प्रहरीका अनुसार विष सेवन गरेर अवस्था गम्भीर बनेका मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको मृत्यु भएपछि अस्पतालमा आक्रमण गरिएको हो । 


महतोले विष सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उपचारमा संलग्न चिकित्सकले पनि विषादी सेवन गरेका कारण उनको मृत्यु भएको जानकारी दिएका छन् । 


विष सेवनपछि अवस्था गम्भीर बनेका महतोलाई उपचारका लागि बिहीबार साँझ ५ः३० बजेतिर विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोशीमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पताल रेफर गरियो । 


उनको उपचारकै क्रममा राति ११ बजेतिर नोबेलमा मृत्यु भएको प्रहरीले जनाएको छ । महतोको उपचारमा संलग्न रहेकी पत्नी अनितादेवी महतोले पतिले विष सेवन गर्नुको कारण आफूलाई थाहा नभएको बताएकी छन् । 


महतोको मृत्यु भएपछि नोबेल अस्पतालमा ४०–५० जनाको संख्यामा भेला भएका आफन्त एवं छिमेकी शुक्रबार बिहानका राति १ः३० बजेतिर तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ । अस्पतालको आकस्मिक कक्षअगाडि भेला भएको समूह चिकित्सकको लापरबाहीले महतोको मृत्यु भएको भन्दै होहल्ला र हुलदंगा गर्दै तोडफोडमा उत्रिएको थियो । 


अस्पतालविरुद्ध नाराबाजीमा उत्रिएको समूहले एक्कासि ढुंगामुढा गर्न थालेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । उनका अनुसार उत्तेजित भिडले ढुंगामुढा गर्दा ओपीडी प्रवेश गर्ने ढोकाको माथिल्लो भागको सिसा फुटेर क्षति पुगेको छ । स्थितिलाई नियन्त्रणमा लिन  वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत इन्स्पेक्टर राजेश दत्त नेतृत्वको टोली अस्पताल पुग्यो । 

mirtu
उत्तेजित भिडले प्रहार गरेर ढुंगाले लागेर इन्स्पेक्टर दत्त घाइते भएका छन् । दाहिने खुट्टाको घुँडामा चोट लागेका उनको अवस्था सामान्य रहेको र नोबेलमै उपचार गराइएको प्रहरीले जनाएको छ । त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी मदन केसी र वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।

आक्रोसित बनेको भिड पुनः तोडफोडमा उत्रिएपछि अस्पतालको अवस्था झन् तनावग्रस्त बन्न पुग्यो । भिडले ढुंगामुढा गर्दा अस्पतालको बनाउँदै गरेको नयाँ भवनको ५–६ वटा झ्यालका सिसा फुटेको एसपी चिमरियाले बताए । प्रहरीले सामान्य बल प्रयोग गरेर भिडलाई तितरबितर पारेपछि अवस्था साम्य बनेको थियो । 


थप मद्धतका लागि प्रहरी पुगेपछि तोडफोडमा संलग्नहरु फरार बनेका थिए । ढुंगामुढा र तोडफोडमा संलग्न ७ जनालाई पक्राउ गरिएको एसपी चिमरियाले बताए । पक्राउ परेकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी तीव्र पारिएको र घटनाको अनुसन्धान सुरु गरिएको जानकारी चिमरियाले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार