विराटनगर : विराटनगरमा एक जेष्ठ नागरिकले हराएको नगदसहितको झोला र मोबाइल प्रहरीको सक्रियतामा फेला परेको छ। मोरङको वडा प्रहरी कार्यालय विराटनगरले ती सामान सोमबार सम्बन्धित धनीलाई बुझाएको हो।
विराटनगर–५ निवासी ८० वर्षीय ईश्वरप्रसाद उपाध्यायले भारतको जोगवनीबाट प्रदेश १–००२ ह ३९३० नम्बरको सीटी सफारीमा आइतबार विराटनगरतर्फ यात्रा गरेका थिए। रामजानकी चोकमा ओर्लिएपछि उनले साथमा रहेको झोला सफारीमै छुटाएको पाए। झोलामा ७७ हजार ५ सय रुपैयाँ नगद, मोबाइल फोन र विभिन्न कागजातहरू थिए।
सामान हराएपछि उनले वडा प्रहरी कार्यालय विराटनगरमा निवेदन दिए। डीएसपी अनमोल खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गर्दै सीसीटीभी फुटेजको सहायताले सफारीको खोजी गर्यो। अनुसन्धानक्रममा सफारीका चालक विराटनगर–६ सरौचिया निवासी २७ वर्षीय हरिश साहको पहिचान भयो।
सफारी र चालकको पहिचान भएपछि वृद्ध अवस्थाका उपाध्यायको हराएको नगदसहित मोबाइल फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । चुँडालका अनुसार सम्पूर्ण सामग्री जस्ताको तस्तै सोमबार उपाध्यायलाई बुझाइएको छ।
हराएको सामान फिर्ता पाएपछि उपाध्याय भावुक हुँदै प्रहरीलाई धन्यवाद दिएका छन्।
प्रतिक्रिया