पाँचथर : अविरल वर्षासँगै पाँचथरको हेंवा खोलामा पानीको सतहले डाइभर्सन पार गरेपछि मेची राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
हिजो साँझदेखि लगातार परेको वर्षाका कारण खोलाको सतह डाइभर्सन नाघेर सडक बगाएपछि इलाम–पाँचथर–ताप्लेजुङ आवतजावत ठप्प भएको हो।
आज बिहानैदेखि ताप्लेजुङतर्फ गएका र ताप्लेजुङबाट फर्कँदै गरेका सवारी साधन बिच बाटोमै अलपत्र परेका छन्।
डाइभर्सन कटान भएर पानी सिधै सडकमा पस्दा यात्रुहरू जोखिम मोलेर बाटो पार गर्न बाध्य छन्।
सुरक्षाकर्मीहरू सडक सुरक्षित बनाउने प्रयासमा खटिए पनि खोलाको बहाव कम नहुँदासम्म यातायात सुचारु गर्न नसकिने जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले बताएका छन्।
खोलाको बहाव घट्ने बित्तिकै डाइभर्सन मर्मत गरिने र सवारी सञ्चालनमा ल्याइने उनले जानकारी दिए। स्थानीय प्रशासनले नदी आसपासका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया