विदेशको अनुभव स्वदेशको सीपले भोजपुरका मगर बने स्वरोजगार

मंगलबार, १० असार २०८२

भोजपुर । यहाँका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर बढेको छ । युवाहरूले आफैँले सीप सिकेर थालेको उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् । कतिपय युवा भने विदेशबाट फर्केर पुनः सीप सिकेर पनि उद्यममा जोडिएका छन् । विदेशबाट फर्केर स्वदेशमा सीप सिकेर जिल्लामा सफल उद्यमी बनेका छन्– हरि मगर (बाजेन) । वैदेशिक रोजगारीमा १० वर्ष बिताएर स्वदेश फर्किएका मगरसँग हातेट्रयाक्टर मर्मत गर्ने सीप छ । यही सीप अहिले उनको जीवन धान्ने साधन बनेको छ ।

जिल्लामा व्यावसायिक रूपमा कृषियन्त्र उपकरण बिक्री वितरणसँगै मर्मतमा लागेका मगरलाई अहिले कामले भ्याइनभ्याई छ । पाँच वर्षअघिबाट ट्रयाक्टर बनाउने काममा लागेपछि पछाडि फर्केर हेर्नु नपरेको मगरको भनाइ छ । स्थायी घर धनकुटाको छथर जोरपाटी भएका मगर सुरुमा हातेट्रयाक्टर मर्मत गर्ने सोचले भोजपुर आएको बताउँछन् ।

लामो समय विदेशमा बिताएपश्चात सीप सिकेर काममा लाग्नुभएका मगर अहिले सफल उद्यमीका रूपमा चिनिन्छन् । सुरुमा हातेट्रयाक्टर मर्मतको सीप लिएर सानोतिनो काम गर्ने सोचले यो पेसामा लागेका मगर अहिले उदाहणीय उद्यमी बन्नुभएको छ । सीपले उद्यमीसँगै स्वरोजार बनाएको मगरले बताए ।

“मैले विभिन्न देशमा गरी १० वर्ष बिताएँ”, मगरले भने, “विदेशबाट आएपछि मैले घरेलुमार्फत हातेट्रयाक्टर मर्मत गर्ने सीप लिने मौका पाएँ । सीप लिएपश्चात गाउँघरमा पुगेर किसानको सेवा गर्ने लक्ष्यले म भोजपुर आएको थिएँ । तर त्यही सीपले अहिले स्वरोजगारसँगै उद्यमी बनायो ।”

आफूले सञ्चालन गरिरहको उद्यमबाट अहिले अन्य तीन जनालाई रोजगारी दिएको उनले बताए । गाउँघरमा हातेट्रयाक्टरले खेतबारी जोत्ने चलन बढेसँगै कामको चाप पनि बढेको छ । भोजपुर नगरपालिका–७ सातधारामुनि कृषि औजार उपकरण बिक्री पसल पनि सञ्चालन गरिरहेको उनी बताउँछन् ।

ट्रयाक्टर बिग्रिएर समस्या परेका किसानलाई खेतबारीमा नै पुगेर सेवा दिने गरेको मगरले बताए । साथै सीप सिक्न चाहने किसानलाई निःशुल्क सीप दिने गरेको छु, रु ६० लाख लगानीमा उद्यम सञ्चालन गरिरहेको उनले बताए ।

“मैले आफैँले सिकेको सीपबाट कमाएको पैसाले पसल पनि सञ्चालन गरिरहेको छु, साथीहरूको लहलहैमा लागेर विदेश गइयो । अहिले यहीँ सीप सिकेर विदेशको भन्दा राम्रो आम्दनी गरिरहेको छु । सीपले मानिसलाई सक्षम बनाउने रहेछ”, उनले भने ।

यहाँबाट जिल्लाभरका किसानलाई आफूले जानेको सीप दिँदै आएको उनको भनाइ छ । घरेलु तथा साना उद्योग कार्यालय तथा स्थानीय तहले सञ्चालन गर्ने सीपमूलक तालिममा प्रशिक्षक रूपमा काम गर्ने मौका पाउने मगरले बताए । तालिममार्फत दुई सय बढी किसानलाई हातेट्रयाक्टर मर्मतको सीप दिइसकेको उनको भनाइ छ ।

पछिल्लो समय गाउँघरमा गोरुले जोतेर खेती गर्ने चलन कम हुँदै आएको छ । कृषिजन्य यन्त्र उपकरणको प्रयोगले किसानलाई सहजता भए पनि सञ्चालन तथा मर्मतको ज्ञान नुहँदा भने किसानले समस्या भोग्दै आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार