काठमाडौँ : १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ । चार दिनमा अटो शो १ लाख ४ हजार ३ सय ४७ जनाले अवलोकन गरेको तथ्याङ्क छ ।
अवलोकनकर्ताहरू सवारी साधन खरिदका लागि आवश्यक पर्ने बैंकिङ लोन प्रक्रिया बुझ्न बैंकका स्टलहरूमा समेत झुम्मिएका छन् । सस्ता र आकर्षक ब्याजदर एवम् बैंकिङ प्रक्रियाबारे जिज्ञासा लिन अवलोकनकर्ताहरूले बढी चासो दिइरहेका छन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता बढ्दै गइरहेपनि बैङ्क तथा वित्तीय संस्थाबिच सवारी कर्जा अर्थात् अटो लोनको ब्याजदरमा समेत प्रतिस्पर्धा देखिन्छ ।
बैङ्कले अरुबेला अन्य क्षेत्रमा दिने लोन भन्दा सवारी कर्जा लोनमा केही छुट समेत दिइरहेका छन् । हिमालयन बैङ्ककी अचल ढकाल बस्नेतले नाडा अटो शोमा विभिन्न बैङ्कको सवारी कर्जा ६ प्रतिशतबाट सुरु भएको बताउँछिन् । हिमालयन बैङ्कको बेस रेट ६.४८ रहेको उनले बताइन् । उनले प्रिमियम इभीमा ०.८ प्रतिशत लिएको जानकारी दिइन् ।
‘अटो लोनमा इभी र नन–इभी भनेर दुई क्याटोगरी छुटाइएको छ । नाडा अटो शो मा न्यूनतम प्राइसिङ भनेको विभिन्न बैङ्कको ६ प्रतिशतबाट स्टार्ट भएको छ । हिमालयन बैङ्कको बेस रेट ६.४८ हो । प्रिमियम इभीमा ०.८, लिइरहेका छौँ,’उनले भनिन् । उनले सवारी कर्जा अटो लोनमा नाडा स्पेसल भन्दै ओभरल प्याकेजिङ आठ वर्षका लागि राखिएको बताइन् ।
‘लोन व्यक्तिगत र कम्पनी दुवैको नाममा लिने वा दिने गरिएको छ । इभी र नन–इभीको लागि सेप्रेट प्राइसिङ रेट राखिएको छ,’ उनले भनिन् । उनले भनिन् ‘ओभरअल याकेजिङ आठ वर्षको छ । र लोन प्रोसेसिङ फि भनेको ०.५ छ ।
आठ वर्षको प्याकेज नाडा अटो शो का लागि मात्र हो । अरू बेला आठ बर्ष दिने गरिएको छैन् । कागजात भनेको पर्सनल र कम्पनी दुवैको अनिवार्य हुन्छ ।’ त्यस्तै उनले पछिल्लो दुई वर्षमा ३०० बेसिस पोइन्टले तीन प्रतिशत बेस रेट घटेको बताइन् ।
अरू बैङ्कको बेस रेट बढ्ने क्रम भएतापनि हिमालयन बैकको भने घट्ने क्रममा रहेको उनले बताइन् । नेपाल राष्ट्र बैङ्कको गाइडलाइन अनुसार नै काम भइरहेको उनले जानकारी दिइन् । त्यस्तै नाडा अटो शो को स्टलमा भेटिएका नबिल बैंकका विलिफ खनालले नाडालाई विशेष टार्गेट गरेर ६.७४ प्रतिशतमा अटो लोनमा फाइनान्सिङ गर्ने व्यवस्था मिलाइएको बताए ।
आम्दानीको स्रोत हेरेर लोन सात वर्षसम्मका लागि राखिएको भन्दै फिक्स रेट चाहेमा ८.२५ प्रतिशतमा लोन प्रवाह गर्न सकिने उनको दाबी छ ।
उनले कागजातमा आम्दानीको स्रोत प्राथमिकताका साथ हेर्ने गरेको पनि बताए । उनले अहिले अटो शो मा क्रेडिट कार्डको सुविधा, लाइफ टाइम फ्री स्किम नबिल बैङ्कले सार्वजनिक गरेको भन्दै सेभिङ एकाउन्टमा इन्ट्रेस्ट रेट पनि हायर रेटमा दिन सकिने बताए ।
अटो शोको अफरका रूपमा बैङ्कहरूले सेवा शुल्क ०.२५ प्रतिशत बिन्दुले घटाएको र ब्याजदर ६ देखि ८ प्रतिशतबिचमा प्रतिस्पर्धा गरेका छन् । निश्चित र चल्ती दुवै ब्याजदरमा कर्जा दिने बैङ्कहरूले बताएका छन् ।
अटो शोमा कृषि विकास बैङ्कले ६.२३ प्रतिशतमै सवारी कर्जा उपलब्ध गराउने जनाएको छ । बैङ्कले व्यक्तिगत विद्युतीय गाडीमा मूल्यको ६० र व्यावसायिक गाडीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने अटो लोन योजना ल्याएको छ ।
लक्ष्मी सनराइज बैङ्कले साता वर्षका लागि फिक्स ७.९९ प्रतिशत ब्याजदरमा मूल्यको ६० प्रतिशतसम्म कर्जा दिने जनाएको छ भने ग्लोबल आइएमईले ६.९९ प्रतिशत ब्याजदर सवारी कर्जा दिने जनाएको छ । त्यस्तै सानिमा बैङ्कले सात वर्षका लागि फिक्स ब्याजदर ८.१५ तोकेको छ ।
सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिएको छ । नेपाल एसबीआई बैङ्कले ७.९९ प्रतिशत ब्याजदरमा तीन वर्ष, ८.४९ प्रतिशतमा पाँच वर्ष र ८.९९ प्रतिशत ब्याज सात वर्षका लागि कर्जा उपलब्ध गराइने जनाएको छ । अटो शो मा फरक फरक प्रकृतिका सवारी साधनको खरिद फरक ब्याजदर तोकेका छन् । शो मा आधा दर्जन बैंकका स्टल छन् ।
प्रतिक्रिया