जेनजी प्रदर्शनमा ‘नेपालीरिका होटल’ ध्वस्त : के भन्छन् ग्रुपका अध्यक्ष भोलेश्वर दुलाल ?

२७ करोडभन्दा बढीको क्षति

मंगलबार, २८ असोज २०८२

मोरङ : पूर्व नेपालको आतिथ्य उद्योगमा एक चिनारी बनिसकेको ‘नेपालीरिका होटल’ जेनजी आन्दोलनको दोस्रो दिन भएको आगजनीपछि पूर्णरूपमा बन्द भएको छ ।

पिएलओ ग्रुपद्वारा सञ्चालित विराटचोकस्थित उक्त होटेलमा भदौ २४ गते प्रदर्शनकारीले गरेको आगजनी र लुटपाटबाट करिब २७ करोड रुपैयाँभन्दा बढीको क्षति भएको हो ।

तीव्र आक्रोशबिच प्रदर्शनकारीले होटेलको रिसेप्सन हल, बैंक्वेट हल, १२ वटा कोठा र स्टोर रुममा आगजनी गरेका थिए भने अन्य ६० कोठाका सिसा तोडफोड, ४१ वटा टेलिभिजन, १२८ वटा ग्यास सिलिन्डर र बारमा रहेका सम्पूर्ण पेय पदार्थ समेत लुटपाट गरेका थिए । साथै, जिम हलका सामग्री, २ वटा बस, २ वटा कार र ३ वटा मोटरसाइकल समेतमा आगजनी गरिएको होटलले जनाएको छ ।

“भौतिक संरचनाले कसको के बिगारेको थियो र? यस्तो आगजनी नितान्त दुःखद हो,”होटेलका प्रबन्ध निर्देशक आकाश दुलाल भन्छन् । उनका अनुसार, ४ वर्षअघि करिब १ अर्ब ५० करोडको लगानीमा सञ्चालनमा आएको तीन तारे होटल अब पूर्णरूपमा नोक्सानमा पुगेको छ ।

pradeskhabar.com - 2025-10-14T175455.356

भद्रता र व्यावसायिकताको प्रतीक मानिने ‘नेपालीरिका’ होटेलमा करिब १५० जना कर्मचारी कार्यरत थिए । आगलागीपछि सेवा पूर्णरूपमा बन्द भए पनि होटल व्यवस्थापनले दसैँअघि कर्मचारीलाई तलब र बोनस दुवै वितरण गरेको दुलालले बताए ।

pradeskhabar.com - 2025-10-14T191002.166

“हामीले दशैंको खुसीयाली बाँड्न पर्छ भन्ने सोच्यौँ, त्यही भएर होटल बन्द भए पनि कर्मचारीको तलब–बोनस काटिएन,” उनले भने, “तर अब होटेललाई पहिलाकै अवस्थामा फर्काउन कम्तीमा तीन महिना लाग्छ।”

पूर्वका सामाजिक तथा पारिवारिक कार्यक्रमका लागि आकर्षण बनेको नेपालीरिका होटलले नजिकैको दमकमा आउटलेट सञ्चालन गर्दै आतिथ्य क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । अब निकट भविष्यमा इलामको श्रीअन्तु, धनकुटाको भेडेटार र सुनसरीको कोशी टप्पुमा पनि नयाँ शाखा खोल्ने योजना रहेको दुलालले खुलासा गरे ।

WhatsApp Image 2025-10-14 at 17.50.08 (2)

होटेललाई पुनः जीवन दिनका लागि तयारी तीव्र भइरहेको दुलालले बताए -“हामी तिहारको अवसर पारेर, लक्ष्मीपूजाको दिनदेखि होटल आंशिक रूपमा पुनः सञ्चालन गर्ने तयारीमा छौँ । यसलाई अझ आकर्षक, आधुनिक र पूर्वमै उत्कृष्ट बनाउन पुनः निर्माणको काम जारी छ।”

नेपालीरिका होटेलको पुनरुत्थान योजनाले पूर्व नेपालको पर्यटन र आतिथ्य क्षेत्र पुनः सक्रिय बन्ने आशा जगाएको छ । उद्यमी भोलेश्वर दुलालको सक्रिय नेतृत्वमा सञ्चालित नेपालरिका होटलले बिराटचोकमा व्यावसायिक साथै सामाजिक क्षेत्रमा दिगो पहिचान बनाउन सफल भएको छ।

होटल व्यवसायसँगै दुलालले पिएलओ लुब्रिकेन्टस र एक दर्जनभन्दा बढी सङ्घ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै स्थानीय उद्यमशीलता र रोजगारी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।

हालै होटेलमा भएको आगजनीप्रति दुख व्यक्त गर्दै दुलालले भने, “हामीलाई यो घटना दुःखद छ, तर यस्ता घटनाबाट हामी विचलित छैनौ। जेनजीको नाममा गरिएका हिंसा र आगजनीलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन।”

bhola dulal

उनले थपे कि यस्तो अनुपयुक्त गतिविधिले क्षेत्रीय विकास र जनजीवनमा नकारात्मक प्रभाव पार्छ — त्यसैले यसलाई कडाइका साथ निरुत्साहित गर्न आवश्यक छ।

दुलालका अनुसार, “सरकारले राम्रो करदातालाई संरक्षण गर्नुपर्नेछ; सम्पत्तिमा आक्रमण अपराध हो र यसमा संलग्नहरूलाई कानुनी कारबाही हुनुपर्छ।” साथै उनले स्थानीय प्रशासन र सुरक्षासँग सहकार्य गरी घटनामा संलग्नहरूको पहिचान भइसकेको उल्लेख गर्दै दोषीहरूलाई छोड्न नहुने स्पष्ट सन्देश दिएका छन्।

 

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार