काठमाडौँ: रोजगारीका लागि जापान जान भाषा र प्रशिक्षण सहित जापान अध्यागमनबाट योग्य ठहरिएका नेपाली श्रमिकहरु माथि अनधिकृत संस्था खडा गरी आवतजावतमा रोकावट गरी थप असुली गरेको भन्दै तीन सरकारी निकाय सहित एक कन्सल्टेन्सी विरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा उपर अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
श्रमका लागि प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रम टिआईटिपी अन्तर्गत रोजगारीका लागि योग्य भइसकेका नेपाली श्रमिकहरूलाई जापान जानबाट वञ्चित गरिँदै अनेकन बहानामा रोकिएको भन्दै सर्वोच्चमा दायर भएको रिट उपर अदालतले कारण देखाऊ आदेश जारी गरेको हो ।
आइतबार अधिवक्ता खगेन्द्रप्रसाद चापागाईँ समेत उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट सरकारी निकायको मिलेमतोमा जान नामक एक सङ्गठनले सयौँ योग्य भइसकेका श्रमिकमाथि दुवै देशको ऐन कानुन विपरीत रकम असुल्ने तथा जापान जानबाट रोकेको भन्दै चार जना अधिवक्ताहरूले मुद्दा दायर गरेका थिए ।
अधिवक्ताहरू खगेन्द्रप्रसाद चापागाईँ, हसिना प्रधान , विशाल थापा र उमा पौडेलले दायर गरेको मुद्रामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय , वैदेशिक रोजगार विभाग र जाइका अलुम्नाई एसोसिएसन नेपाल नामको संस्थाविरुद्ध मुद्दा दायर भएको थियो ।
खासगरी जाइका अलुम्नाई एसोसिएसन नेपाल नामक संस्थालाई अनिवार्य रूपमा खडा गराई भिसा प्रक्रियामा सफल भैसकेका श्रमिकहरूलाई रोक लगाइएको गम्भीर आरोप मुद्रामा उठाइएको छ।
प्रशिक्षण र भाषा परीक्षा सफलतापूर्वक पूरा गरी प्रमाणपत्र या सिओइ प्राप्त गरेका श्रमिकहरूलाई समेत जाइका अलुम्नाई एसोसिएसनले सिफारिस वा भाषा परीक्षा पास प्रमाणपत्र नहुँदासम्म जापान जान अनुमति नदिइनु संविधान प्रदत्त हक, वैदेशिक रोजगारीको अवसर र व्यक्तिगत स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको भन्दै मुद्दा दायर भएको थियो ।
सिओई जापानको अध्यागमन कार्यालयबाट जारी गरिने आधिकारिक कागजात हो, सिओई जसले श्रमिकलाई जापानको भिसा प्राप्त गर्न कानुनी योग्यता प्राप्त भएको प्रमाणित गर्छ।
सिओई पाउनु भनेको श्रमिकले जापानमा रोजगारीका लागि आवश्यक कानुनी र प्राविधिक मापदण्ड पुरा गरिसकेको सङ्केत हो। तर नेपालमा भने सिओई पाइसकेका श्रमिकहरूलाई जाइका अलुम्नाई एसोसिएसनद्वारा अनिवार्य भाषा परीक्षा पास नगरी भिसा प्रक्रिया अघि बढाउन दिइएको छैन।
उक्त परीक्षा न जापानी सरकार, न दूतावास, न रोजगारदाता कम्पनीले अनिवार्य भनेको छ तैपनि जबरजस्ती बाध्य बनाएर त्यो प्रक्रियामा सहभागी गराउने र रकम असुल्ने गरेको खुलेको छ । यदि रकम तिर्न नसके श्रम स्वीकृति नलिएर उसलाई जानबाट वञ्चित गराउन सरकारी निकायकै मिलेमतोमा जानले मनोपरि गरिरहेको थियो ।
अधिवक्ता खगेन्द्र प्रसाद चापागाईँले नेपाली श्रमिकहरूलाई अनावश्यक तनाव दिएर भिजा प्राप्त भइसक्दा पनि जापान जानबाट वञ्चित गराइएको र सरकारी निकायकै मिलेमतोमा जान नामक संस्थामार्फत अनधिकृत गतिविधि र असुली मच्चाएपछि आफूहरू अदालत जान बाध्य भएको जनाए ।
उनले आफू वर्षौँदेखि जापान बसेर व्यवसाय गर्दै आएको बताउँदै जापान जान पुरा गर्नुपर्ने नियमबारे सबै जानकारी रहेकोले नेपालको यो ठगिधन्दा विरुद्ध नेपाली श्रमिकको पक्षमा आफूहरू उभिएको र न्यायलयले पनि उचित निर्णय लिएको बताएका छन् ।
उनले भने “जाइका अलुम्नाई एसोसिएसनले सञ्चालन गर्ने भाषा परीक्षा प्रक्रिया न वैधानिक रूपमा आवश्यक छ, न त अन्तर्राष्ट्रिय मान्यता प्राप्त नै तर, श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागको अप्रत्यक्ष समर्थनमा जानलाई अनिवार्य निकाय बनाइ, श्रमिकहरूलाई ३ हजार ३ सय भन्दा बढी शुल्क तिराएर पुनः परीक्षा दिन बाध्य पारिएको छ ” यो गैरकानुनी काम हो ।
एक जना सिओई प्राप्त गरेका नेपाली श्रमिकले भने " सिओई पाइसकेपछि पनि हामीलाई नेपालकै संस्थाबाट फेरि परीक्षा दिनु भनेको मानसिक र आर्थिक शोषण हो ।” तैपनि आवाज सुन्ने कुनै निकाय भेटिएन ।
सिद्धान्त तः रोजगार प्रक्रिया सहज, पारदर्शी र प्रतिस्पर्धात्मक हुनुपर्ने हो। तर जानलाई बिचौलिया बनाएर सिफारिस वा प्रमाणपत्रको नाममा बाधा सिर्जना गर्नुले प्रतिस्पर्धाको आत्मा र निष्पक्षता माथि चोट पुर्याएको सरोकारवालाहरू बत्ताउँछन् ।
जाइका अलुम्नाई एसोसिएसनलाई नेपालको कानुनले चिन्दैन: विभाग
वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराइले जाइका अलुम्नाई एसोसिएसन नामको संस्थालाई नेपालको कानुनले नचिन्ने प्रतिक्रिया दिए । उनले आफू भर्खरै मात्र सरुवा भई आएकाले के कसो भएको त्यसबारेमा कुनै जानकारी नरहेको जनाएका छन् । उनले त्यसबारे के कसो भएको हो अध्ययन गर्ने जनाएका छन् ।
प्रतिक्रिया