इटहरी : झन्डै १० करोड रुपैयाँको लागतमा इटहरी उपमहानगरपालिका–४ मा स्थापना गरिएको इटहरी स्थित मङ्गल - राधिका सदानन्द प्रणामी अस्पतालले अन्ततः इटहरी उपमहानगरपालिकाको स्वीकृति पाएको छ।
लामो समयदेखि स्वीकृति नपाएर प्रशासनिक सङ्कटमा परेको अस्पताललाई आज (सोमबार) बसेको उपमहानगर कार्यपालिकाको बैठकले औपचारिक मान्यता दिएको हो।
बैठक सुरु हुने बित्तिकै नगरप्रमुख हेमकर्ण पौडेलले अस्पताललाई स्वीकृति दिन प्रस्ताव अघि सारेका थिए।
उक्त प्रस्तावमा उपप्रमुख सङ्गीता कुमारी चौधरीसहित कार्यपालिका सदस्यहरूले सर्वसम्मत समर्थन जनाएपछि अस्पतालले कानुनी रूपमा सञ्चालन अनुमति प्राप्त गरेको हो।
गत वैशाख १ गतेदेखि अस्पतालले सेवा सुरु गरे पनि उपमहानगरको सहमति नपाएकै कारण अस्पताल प्रशासन अप्ठ्यारोमा परेको थियो।
अस्पतालमा हाल भिडियो एक्स–रे,आधुनिक ल्याब सेवा,विशेषज्ञ चिकित्सकहरूको सेवा उपलब्ध भइसकेको छ।
अस्पतालले सेवाहरू सुरु गरे पनि स्वीकृति नहुँदा कर्मचारीलाई होल्डमा राख्नुपरेको थियो भने अस्पतालको नियमित सञ्चालन समेत प्रभावित बनेको थियो।
प्रदेश खबरले केही दिनअघि अस्पतालको समस्याबारे विशेष समाचार प्रकाशित गरेपछि सार्वजनिक चासो थपिएको थियो।
अन्ततः इटहरी उपमहानगरले अस्पताललाई कानुनी रूपमै मान्यता दिएपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हेम घिमिरेले सामाजिक सञ्जालमार्फत नगरप्रमुख पौडेलसहित उपमहानगरलाई धन्यवाद दिएका छन्।
नगरप्रमुख पौडेलले सार्वजनिक स्वास्थ्य सेवा पहुँचमा विस्तार गर्नु उपमहानगरको प्राथमिकता भएको बताए।
"स्वास्थ्य सेवा आम जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। कानुनी प्रक्रिया पुरा गरी सञ्चालनमा आएको अस्पताललाई स्वीकृति दिनु हाम्रो दायित्व हो," उनले भने।
बुढी गङ्गा–जमुना मुक्तिघाट परिसरमा निर्माण गरिएको १५ शय्याको सुविधा सम्पन्न अस्पताल कानुनी मान्यता पाएसँगै अब पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ।
सुविधा सम्पन्न पूर्वाधारसहितको अस्पताल सञ्चालनमा आउँदा स्थानीयवासीलाई उपचारका लागि अन्यत्र जानु नपर्ने र सहज स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ।
प्रतिक्रिया