विराट गोल्डकपमा क्वाटरफाईनल खेल सकिए, चर्च ब्वाइज पुग्यो सेमिफाइनलमा

शनिबार, २४ फागुन २०८१
विराटनगर : चर्च ब्वाइज युनाइटेड क्लब विराटनगरमा जारी ९ औँ संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रङ्गशालामा शनिवार अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस, थ्री स्टार र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन् । चर्च ब्वाइजको जितको लागि विदेशी खेलाडी रिचर्ड र आकाश राईले गोल गरेका थिए । खेलको ३५ औँ मिनेटमा चर्च ख्वाइजले अग्रता लिएको थियो । लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढङ्गले पोस्टको दिशा दिएका थिए । चर्च ब्वाइजका लागि दोस्रो गोल ६४ औँ मिनेटमा सब्स्टिच्युट आकाशले गरे । दोस्रो हाफपछि चन्दन दासको ठाउँमा आकाश मैदान प्रवेश गरेका थिए । चर्च ब्वाइजको बलियो रक्षापंक्ति तोड्न नसक्दा एनआरटी पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । अर्कोतर्फ चर्च ख्वाइजले एक महिना अगाडी धरानमा सम्पन्न भएको २५ औँ संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । २७ माघमा सम्पन्न बुढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो । प्रतियोगिताको प्लेयर अफ द म्याच चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्रसिंह थापा घोषित भए । उनले नगद ११ हजार पाए । चर्च ब्वाइजको जितसँगै अब फाइनल प्रवेशको लागि सोमबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । आइतबारको पहिलो सेमिफाइनल खेल भने विभागीय टिम त्रिभुवन आर्मी र थ्री स्टार बिच हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार