विराटनगर । कोशी प्रदेश सरकारको राजस्व संकलन सन्तोषजनक देखिएको छैन । यसले गर्दा बजेट कार्यान्वयन प्रभावित हुने देखिएको छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट कार्यान्वयन गरिरहेको छ । आर्थिक वर्षको ९ महिना सकिन लाग्दा अनुमानित आय लक्ष्य हासिल हुन नसक्ने देखिएको छ ।
कोशी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार हालसम्म जम्मा १९ अर्ब २२ करोड ४३ लाख ९ हजार ४६७ रुपैयाँ आम्दानी भएको छ ।
३९ अर्ब ७३ करोड ८३ लाख अनुमानित आय भेट्टाउन अझै २० अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन हुनुपर्छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा वैदेशिक अनुदान २५ करोड ६८ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपुरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख र नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख आम्दानी हुने अनुमान गरेको थियो ।
प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार बाँडफाँडबाट प्राप्त हुने करहरु मूल्य अभिवृद्धि कर, अन्तशुल्क, समानीकरण अनुदान, ससर्त अनुदान चालू, ससर्त अनुदान पूँजीगत, विशेष अनुदान चालू तथा पूँजीगत, समपूरक अनुदानबाट हालसम्म १७ अर्ब ४ करोड ८२ लाख ४५ हजार ४४४ रुपैयाँ प्राप्त भएको छ ।
यस्तै आन्तरिक राजस्व संकलनबाट २ अर्ब ७३ करोड ११ लाख ७४ हजार ७८६ रुपैयाँ प्राप्त भएको छ । उक्त राजस्व प्रदेश सरकारले उठाउने भनेको आन्तरिक आय ४ अर्ब ९८ करोड ४५ लाखको ५४.७९ प्रतिशत मात्रै हो ।
कार्यालयका अनुसार चैत १९ गतेसम्ममा जम्मा १९ अर्ब २२ करोड ४३ लाख ९ हजार ४६७ रुपैयाँ पुगेको छ ।
बजेटको आकार ३९ अर्ब पुग्न अझै २० अर्ब रुपैयाँ आम्दानी हुनुपर्छ ।
प्रतिक्रिया