अरुण तेस्रो आयोजनाका प्रभावित बासिन्दाद्वारा पुनः सर्भे गर्न माग

मंगलबार, २१ चैत्र २०७९
काठमाडौं । नौ सय मेगावाट क्षमताको संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुनः सर्भेको माग गरेका छन् । सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने चार सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय नगरी काम अगाडि बढाउन खोजिएको भन्दै भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाका जग्गाधनीले पुन सर्भे गर्न माग गरेका हुन् । उनीहरु सङ्घर्ष समिति निर्माण गरी विरोधमा उत्रिएका छन् । बस्ती र खेतीयोग्य जमिन मासिने गरी सर्भे गर्दा आफूहरु विस्तापित हुने अवस्था आएकाले पुनः सर्भेको माग गरिएको सङ्घर्ष समितिका संयोजक पावीहाङ राईले बताए । आयोजना निर्माणका विषयमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय भोजपुरले आयोजना गरेको अन्तरक्रियामा राईले आयोजना मुलुकको हितमा भए पनि जबरजस्ती अघि बढाउन खोजिए आफूहरुलाई मान्य नहुने उनीहरुले बताएका थिए । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आयोजना र सर्भेका विषयमा सम्बन्धित निकायले उचित समन्वय नगर्दा समस्या देखिएको बताए । प्रशारण लाइनका लागि टेम्केमैयुङ गाउँपालिकामा १८ वटा टावर निर्माण हुने जनाइएको छ । सर्भे भएअनुसार टावर निर्माण हुन नहुने, मुआब्जा रकम बढाइनुपर्ने, तारमुनि पर्ने जग्गा र टावरको मुआब्जा एकै साथ वितरण हुनुपर्ने, प्रभावित क्षेत्र घोषणलगायतका सङ्घर्ष समितिको माग छ । अन्तरक्रियामा लगानी बोर्ड, विद्युत् प्राधिकरण, इञ्जिनियर, प्रभावित क्षेत्रका जनप्रतिनिधि, सम्बन्धित सरकारी कार्यालयका प्रमुख, जिल्ला समन्वय समिति, सुरक्षा निकाय, अरुण तेस्रो परियोजनासँग सम्बन्धित विज्ञ सहभागी थिए । अरुण तेस्रो आयोजनाले षडानन्द नगरपालिकामा दुई करोड ६५ लाख ८३ हजार, भोजपुर नगरपालिकामा ६३ लाख ७३ हजार र टेम्केमैयुङ गाउँपालिकामा १४ लाख ४२ हजार गरी चार करोड २१ लाख तीन हजार मुआव्जा वितरण गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार