काठमाडौँ : नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरूले आजदेखि राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्ना दिएर सङ्घीय शिक्षा ऐन जारी गर्न दबाब दिने भएका छन् ।
आज नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको छ । त्यसै गरी फागुन २८ गते नेकपा (एमाले) का केन्द्रीय कार्यालय, चैत १ गते नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, २ गते नेकपा एकीकृत समाजवादीको कार्यालय, ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालयमा धर्ना दिइने बताइएको छ ।
अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरूलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरूको माग रहेको छ ।
बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायत विषय शिक्षकहरूले अगाडि सारेका छन् ।
महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जारी गरेको विज्ञप्तिअनुसार हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरूसँग भेट गरी विद्यालय शिक्षा ऐन जारी गर्ने पक्षमा सक्रिय हुन दबाब दिने, चैत ७ गतेदेखि १५ गतेसम्म रिले अनशन र चैत २० गतेदेखि काठमाडौँ केन्द्रित अनिश्चित कालीन आन्दोलन हुनेछ ।
उक्त आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म कायम रहने र सो अवधिमा सबै सरकारी कामकाज बहिष्कार गरिने महासङ्घको चेतावनी छ ।
प्रतिक्रिया