तेस्रो गोर्खा ट्रेल ब्लेजरको उपाधि लिम्बु र शेर्मालाई

शनिबार, ०२ चैत्र २०८१
धरान । तेस्रो पटक धरानमा आयोजित गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सुरज लिम्बु र महिलातर्फ पाँचथरकी पुष्पा शेर्मा विजेता बनेका छन्। गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजना, धरान–१८ वडा कार्यालयको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिबार सम्पन्न प्रतियोगितामा पुरुष विजेता सुरज लिम्बुले ३४ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरे भने महिला विजेता पुष्पा शेर्माले ४५ मिनेट ३४ सेकेन्डमा दूरी पार गरिन्। पुरुषतर्फ दोस्रो स्थानमा ओशन राईले ३६ मिनेट २ सेकेन्डमा दौड पूरा गरे भने स्काई लिम्बु तेस्रो स्थानमा रहँदै ३६ मिनेट ३८ सेकेन्डमा दौड समापन गरे। महिलातर्फ दोस्रो भएकी दीपा बस्नेतले ४७ मिनेट ४४ सेकेन्डमा तथा तेस्रो भएकी इन्द्रकला नेम्वाङ निक्कीले ४८ मिनेट ४२ सेकेन्डमा दूरी पूरा गरिन्। विजेताले क्रमशः नगद २० हजार, १० हजार र ५ हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। साथै, प्रथम स्थान हासिल गर्ने पुरुष तथा महिला खेलाडीले सन् २०२६ मा हङकङमा आयोजना हुने गोर्खा ट्रेल रनमा सहभागिता जनाउने अवसर पाएका छन्। भेट्रान पुरुषतर्फ विजय कुमार राई पहिलो, मंगल तामाङ दोस्रो र राजु तामाङ तेस्रो भए। महिलातर्फ जमुना लिम्बु पहिलो र कुसुम लिम्बु दोस्रो घोषित भए। पुरस्कार वितरण कार्यक्रममा सभापति महेन्द्रकुमार राई, धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघा, पूर्व नगरप्रमुख तिलक राई, प्रदेशसभा सदस्य विजय राई, नेपाल ओलम्पिक कमिटीका सहमहासचिव पीताम्बर तिम्सिना, वडा नं. २० का अध्यक्ष पदम लिम्बु, ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र सिंह थापा लगायतको उपस्थिति थियो। धरान १८ स्थित रत्न चौकबाट सुरु भएको दौड मङ्गलवारे, सर्दु पुल, भञ्ज्याङ हुँदै गोर्खा स्मृति पार्कमा समापन भएको थियो। प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, तेह्रथुम, पाँचथर, धनकुटा लगायतका जिल्लाबाट ४ सयभन्दा बढी धावक सहभागी भएका थिए। कार्यक्रमका अवसरमा दोस्रो विश्वयुद्ध लडेका १०२ वर्षीय जीवित पूर्व ब्रिटिस गोर्खा सैनिक दल बहादुर राई तथा धरानका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। सभापति महेन्द्रकुमार राई, संयोजक धरान–१८ वडाध्यक्ष नरेन्द्रकुमार राई प्रवीण र पूर्व मेयर तिलक राईले सम्मानस्वरूप उनीहरूलाई फेटा बाँधिदिएका थिए। प्रतियोगितामा धरान रनको प्राविधिक सहयोग रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार