विराटनगर : मोरङको रतुवामाईमा एक जना व्यक्तिले आफ्नै भजितमाथि शनिबार खुकुरी प्रहार गरेका छन् । काकाले खुकुरी प्रहार गर्दा भतिज गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार रतुवामाई नगरपालिका–१० सोमबारेका ४२ वर्षीय युवराज सुवेदीले आफ्नै भतिज ४० वर्षीय
रामप्रसाद सुवेदीलाई दिउँसो ३ः३० बजेतिर खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट रामप्रसादको टाउको र ढाडमा चोट लागेको छ । अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि विराटनगरको आर्या अस्पतालमा भर्ना गरिएको छ । सुरुमा उर्लाबारीको गोदावारी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगर ल्याइएको हो ।
पुरानै पारिवारिक विवादका कारण काकाले भतिजलाई खुकुरीले हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भतिजमाथि खुकुरी प्रहार गर्ने युवराज पक्राउ परेका छन् । घटनामा प्रयोग गरिएको खुकुरीसहित उनलाई पक्राउ गरेको छ । पक्राउ परेका युवराजमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया