हिंसापीडित महिला राख्न इलाममा सुरक्षित आवास सञ्चालनको तयारी

सोमबार, ०४ चैत्र २०८१
इलाम : हिंसापीडित महिलाहरूलाई राख्ने ठाउँ नहुँदा समस्या भएको भन्दै इलाममा सुरक्षित आवास सञ्चालनमा ल्याइने भएको छ । इलाम नगरपालिका–९ स्थित साबिकको पोखरी प्राविमा केन्द्र सञ्चालनको तयारी गरिएको हो । लामो समय सामाजिक क्षेत्रमा क्रियाशील समाजसेवी विष्णुकुमारी लिम्बूको संयोजकत्वमा केन्द्र सञ्चालक समिति गठन गरिएको छ । इलामका स्थानीय तहले यसमा सहयोग गर्ने भएका छन् । राज्य पुनः संरचनामा जानु पूर्व जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालयले केही सहयोग गर्ने गरेको भए पनि स्थानीय तह गठनपछि बेवारिसे तथा हिंसापीडित महिलाहरूलाई आश्रय दिन सकिएको छैन, जस कारण धेरै महिलाहरू थप पीडित बन्नुपरेकाले सुरक्षित आवास केन्द्र सञ्चालन गर्न लागिएको संयोजक लिम्बूले जानकारी दिइन् । “कति महिलाहरू अझै पनि आफ्ना पीडा लुकाएर बसेका छन् । पीडा बाहिर लैजाँदा पीडकबाट थप सास्ती खेप्नुपर्छ भनेर दबिएर बस्नुपर्ने अवस्था छ । त्यसै कारण त्यस्ता महिलाको सुरक्षाका लागि हामीले यो काम थालेका हौं ।” उनले भनिन् । हिंसापीडित महिलाहरूको सहजताका लागि हाल भगवती माध्यमिक विद्यालयको स्वामित्वमा रहेको पोखरी आधारभूत विद्यालयमा राख्नका लागि आवश्यक तयारी पूरा भएको छ । केन्द्र सञ्चालनका लागि इलाम नगरपालिकासहित देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकाका उपप्रमुखहरूले साथ दिएका छन् । सञ्चालक समितिमा देउमाई नगरपालिकाकी उपप्रमुख पविमाया राई र माईजोगगमाई गाउँपालिकाकी उपप्रमुख प्रवीना राई रहेकी छिन् । समितिमा रेडक्रस र मानवअधिकार मञ्चका प्रतिनिधिसमेत छन् । आगामी चैत १० गते आवास सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढेको जनाइको छ । जिल्लामा पुनः स्थापना केन्द्र नहुँदा कहिले उदयपुर त काठमाडौँ पठाउनुपर्ने बाध्यता रहँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार