धरानका तीन क्याम्पसमा स्ववियु निर्वाचन सुरू, पिण्डेश्वर विद्यापीठमा गठबन्धन निर्विरोध

मंगलबार, ०५ चैत्र २०८१
धरान :  धरान उपमहानगरपालिकाका चार क्याम्पसमध्ये तीनवटामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरू भएको छ। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत पिण्डेश्वर विद्यापीठमा भने गठबन्धनका सभापति सहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएका छन्। मंगलबार बिहान ८ बजेबाट महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा मतदान प्रक्रिया सुरू भएको छ। महेन्द्र क्याम्पसमा कुल ४ हजार ००२ मतदाता रहेको र हालसम्म ३०० मत खसिसकेको निर्वाचन अधिकृत लक्ष्मीकृष्ण श्रेष्ठले जानकारी दिए। मतदान स्थलमा ६ वटा केन्द्र स्थापना गरिएको छ भने मतदान प्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ। महेन्द्र क्याम्पसमा १० वटा विद्यार्थी संगठन प्रतिस्पर्धामा रहे पनि प्रमुख प्रतिस्पर्धा नेविसंघ–अनेरास्ववियु गठबन्धनका प्रशान राई, अनेरास्ववियु क्रान्तिकारीका तेजबहादुर दुमी, समाजवादी विद्यार्थीका युवराज राई अलौकिक, अनेरास्ववियु क्रान्तिकारी (मोहन वैद्य समूह) का अमृता राईबीच हुने देखिएको छ। केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा कुल ९६२ मतदाता रहेका छन्। त्यहाँ मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्म हुने छ। यस क्याम्पसमा नेविसंघ–अनेरास्ववियु गठबन्धनका अनिरुद्ध श्रेष्ठ र अनेरास्ववियु क्रान्तिकारी–स्वतन्त्र समूहका पेशल राज कार्कीबीच प्रतिस्पर्धा हुने निर्वाचन अधिकृत राम शोभित यादवले जानकारी दिए। पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा कुल २ हजार  ३६२ मतदाता छन्। सात विद्यार्थी संगठन दर्ता भए पनि पाँचवटा प्यानल प्रतिस्पर्धामा छन्। प्रमुख प्रतिस्पर्धीहरूमा नेविसंघका सागर बस्याल, अनेरास्ववियु क्रान्तिकारीका करण मगर, अनेरास्ववियुका ईश्वर बन्जाडे, समाजवादी विद्यार्थीका गणपति झा र स्वतन्त्र समूहका सविन धिताल रहेका छन्। यसैबीच, पिण्डेश्वर विद्यापीठमा चैत १० गतेका लागि तय भएको निर्वाचनमा सभापति सहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएका छन्। निर्वाचन संयोजक कृष्ण गोपाल अधिकारीका अनुसार, अनेरास्ववियुका सुधाकर पोख्रेल सभापति निर्विरोध निर्वाचित भएका छन्। ११ सदस्यीय कार्यसमितिमा नेविसंघ, अनेरास्ववियु र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका प्रतिनिधिहरू रहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार