धरान : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले देशभर प्रशिक्षक रहँदासमेत खेलाडी उत्पादन हुन नसक्नु चिन्ताजनक विषय भएको बताएका छन् । शनिबार नेपाली काँग्रेसको धरानस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले खेलकुद क्षेत्रमा सुधारका लागि नीति तथा कार्यक्रम ल्याइरहेको जानकारी दिए ।
उनले भने,
नेपालका ७७ वटै जिल्लामा कोच भए पनि अपेक्षाकृत रुपमा खेलाडी उत्पादन हुन नसक्नु सबैको कमजोरी हो । यसमा हामी सबैले गम्भीर चिन्तन गर्नुपर्छ ।
मन्त्री चौधरीले हालको सरकार र खेलकुद मन्त्रालयले विगतको भन्दा बढी सक्रियता देखाउँदै सबै लिगहरू—महिला तथा पुरुष दुवैमा बजेट वृद्धि गरेको बताए । उनले खेलकुद मन्त्रालयलाई ‘उत्कृष्ट मन्त्रालय’ बनाउने लक्ष्यसहित देशव्यापी स्तरमा खेलकुद संरचना विस्तार र खेलाडी प्रोत्साहनमा ध्यान दिइएको उल्लेख गरेका छन् ।
उनले नेपाल सरकारको ऐन, नियमअनुसार नचल्ने कुनै पनि खेल संस्था वा संघलाई कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिए । कार्यक्रममा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले खेलाडीहरू आवश्यक सेवा–सुविधाबाट वञ्चित हुँदा नेपालमा खेल क्षेत्रले अपेक्षित प्रगति गर्न नसकेको धारणा राखे ।
प्रतिक्रिया