ग्रामथान गाउँपालिकामा अध्यक्षको मनोमानी : दुई वडाध्यक्षलाई गाउँसभा बैठकमा सहभागी हुन रोक

शुक्रबार, २७ असार २०८२

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष नमोनारायण माझीको विवादास्पद निर्णयले गाउँपालिकामा विवाद बढेको छ । 

गाउँपालिकाका अध्यक्ष माझीले वडाध्यक्ष वीरेन्द्र चौधरी (वडा नम्बर ७) र भेषनारायण चौधरी (वडा नम्बर ५)लाई ७ दिनसम्म गाउँसभाको बैठकमा सहभागी हुन निषेध गर्दै एकपक्षीय निर्णय गरेका छन् । यस निर्णयसँगै ग्रामथान गाउँपालिकाभित्रको दलगत ध्रुवीकरण, विवाद र कानुनी प्रक्रियाको अवज्ञा एकसाथ सतहमा आएको छ । अध्यक्ष माझी माओवादी केन्द्रबाट निर्वाचित हुन् भने वडाध्यक्षहरू एमालेबाट निर्वाचित भएका हुन्।

अध्यक्ष माझीले शुक्रवार पत्र जारी गरेर ग्रामथान गाउँपालिका सभा सञ्चालन कार्यविधि २०७४ को दफा १६ (४) को आधार देखाउँदै ‘गाउँ सभाको अनुशासन भङ्ग गरेको’ भन्दै २ वडाध्यक्षलाई ७ दिनका लागि गाउँभाबाट निष्कासित गरेका हुन् । तर, स्थानीय जनप्रतिनिधिहरू र कानुनविद्हरूले यो निर्णयलाई गैर कानुनी, मनोमानी र स्वेच्छाचारिता भनेका छन् । 

समस्या बजेट र नीति तथा कार्यक्रमको प्रक्रियासँग गाँसिएको छ। असार १० गते अर्थ विधेयक र विनियोजन विधेयक कार्यपालिका बैठकबाट अनुमोदन नगरी सिधै गाउँसभामा प्रस्तुत गरिएको भन्दै एमाले र काँग्रेसका अधिकांश सदस्यहरूले बैठक बहिष्कार गरेका थिए। त्यसैको निरन्तरता स्वरूप शुक्रवार भएको १७ औँ गाउँसभामा पनि विवाद भएको थियो ।

वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरीले पालिकाको नीति तथा कार्यक्रमबारे जानकारी माग्दा अध्यक्ष माझीले आफूलाई सभाबाट हटाएको बताए। ‘बजेट कहाँबाट पास भयो ? उपाध्यक्ष नै उपस्थित छैनन् भने नीति तथा कार्यक्रम कसरी प्रस्तुत भयो ?’ भन्ने प्रश्न उठाएपछि उनलाई निषेध गरिएको हो।

वडाध्यक्ष भेषनारायण चौधरीले पनि पालिकामा एकलौटी निर्णय गरिएको भन्दै विरोध जनाए । उनीहरू दुवै जनाले गाउँसभाको सूचनासमेत नपाएको बताए । गाउँपालिका अध्यक्षले  ‘मनपरी शासन’ गरिरहेको उनीहरूको भनाइ छ । 

पालिकाकी उपाध्यक्ष गुणावती थारुले समेत आफूलाई नीति तथा कार्यक्रम हेर्न नदिएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि प्रकट गरेकी छिन्। ‘पास भयो भनेर भनिए पनि हामीलाई हेर्नै दिइएन,’ उनले भनिन्। उपाध्यक्षले जानकारी नपाउने र प्रमुखले एकलौटी निर्णय गर्ने अवस्थालाई जनप्रतिनिधिमाथिको अवमूल्यन र अधिनायकवादी प्रवृत्ति भएको आरोप लाग्दै आएको छ।

अध्यक्ष माझी उपनिर्वाचनमार्फत पदमा आएपछि पालिकाभित्र विवाद बढेको छ । अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधनपछि माओवादीका माझी निर्वाचित भएका थिए। त्यसयता, प्रमुख प्रशासकीय अधिकृतदेखि लिएर उपाध्यक्षसम्मको अधिकार खोस्ने, वडाध्यक्षलाई गाली गलौज गर्ने, गैर कानुनी रूपमा माटो उत्खनन गर्न दिने जस्ता विवादमा उनी मुछिँदै आएका छन्।

प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले नहरबाट माटो निकालेर बिक्री गर्ने कार्य गैर कानुनी भएको भन्दै पत्र लेखेर प्रहरीलाई रोक्न लगाएका थिए। तर, त्यही कारण उनलाई अध्यक्ष माझीले स्पष्टीकरण सोधेका थिए । माटोको अवैध उत्खनन रोक्न खोज्दा पौडेल नै दबाब र तनाबमा परेका थिए।

 

उपाध्यक्षको उपस्थितिमा वडाध्यक्षलाई कार्यवाहक अध्यक्ष तोक्ने, उपाध्यक्षको गाडी सुविधा खोस्ने, वडाध्यक्ष यादव खतिवडामाथि गालीगलौज र ज्यान मार्ने धम्की दिने जस्ता विवादमा पनि माझी मुछिएका छन् । माझी निकटका कार्यकर्ताले समेत धम्की दिने गरेको वडाध्यक्षहरू बताउँछन् । 

 

पालिकामा एमाले र काँग्रेसको बहुमत रहेको अवस्थामा माओवादी अध्यक्षको यस्तो एकल निर्णयसम्बन्धी कार्यशैली पालिकाको लोकतान्त्रिक अभ्यासमै प्रश्न उठाउने विषय बनेको छ। बहुमत सदस्यले सभा बहिष्कार गरेको अवस्थामा बजेट, नीति तथा कार्यक्रम पारित गर्नु कानुनी हिसाबले वैध नहुने भन्दै वडाध्यक्षहरू अदालत जाने तयारीमा छन्।

 

ग्रामथान गाउँपालिकाभित्रको यो परिस्थितिले निर्वाचित संस्थाको मर्यादा, प्रतिनिधिमूलक शासन प्रणाली र प्रशासनिक प्रक्रियाको निष्पक्षता माथि गम्भीर प्रश्न उठाएको छ। अध्यक्षको मनोमानीका कारण ग्रामथान गाउँपालिकाले स्थानीय सरकारको रूपमा क्रियाशील हुने हैसियत गुमाउने जोखिम बढेको वडाध्यक्षहरूको भनाइ छ ।  उनीहरूका अनुसार जनप्रतिनिधिमाथिको अनुचित प्रतिबन्ध, गाउँसभाको अपारदर्शी सञ्चालन र दलगत पक्षपातले ग्रामथानलाई राजनीतिक द्वन्द्वको अखडामा परिणत गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार