प्रधानमन्त्रीद्वारा झापाका २ सय भूमिहीन सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

शनिबार, २८ असार २०८२

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् । भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित आज कार्यक्रममा सो पालिकाका २०० जनालाई प्रधानमन्त्रीले जग्गाधनी पुर्जा वितरण गरेका हुन् । 

प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए । उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गरिने जानकारी दिए । 

प्रधानमन्त्री ओलीले भूमिको अधिकतम उपयोग गर्ने, विशेषगरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएको बताए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार देश विकासको गतिमा अग्रसर भएकाले निराश नहुन सम्पूर्ण नेपाली जनतामा आह्वान गर्दै मुलुकले गणतान्त्रिक शासन व्यवस्था अङ्गीकार गरेपछि शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा धेरै परिवर्तन भएका छन् । 

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम सो दलका सभापति एवं लोकतान्त्रिक आन्दोलनका आफ्ना सहयात्री शेरबहादुर देउवालाई अर्को वर्ष सत्ता हस्तान्तरण गरिने बताए । त्यस अवसरमा आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्मका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने बताएका छन् । 

यो पनि 

झापामा प्रधानमन्त्री : आज र भोलि विभिन्न कार्यक्रममा सहभागी हुने

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार