विराटनगर : विराटनगरको रोडशेष चोकमा अब स्वाद, संगीत र मनोरञ्जनको एकैछिनमा अनुभूति गर्न सकिने नयाँ गन्तव्य खुलेको छ— 'सुनामी रेष्टुरेन्ट एण्ड बार'। शनिबार आयोजित विशेष कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले यसको औपचारिक उद्घाटन गरेका हुन्।
बस्नेतले रेष्टुरेन्ट सञ्चालनमा आएका युवाहरूको प्रयासको प्रशंसा गर्दै मर्यादित र सफल व्यवसाय सञ्चालनको शुभकामना दिएका थिए।
रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खुलाल, जनक श्रेष्ठ र सुरजकुमार प्रधानले विदेशको १७–१८ वर्षे अनुभवलाई प्रयोग गर्दै संयुक्त रूपमा यो व्यवसाय सञ्चालनमा ल्याएका हुन्। “यो रेष्टुरेन्ट अरुभन्दा फरक हुनेछ,” सञ्चालक सुरजले बताए, “हामी एउटै परिवारभित्रका साथीहरू हौं, र पारिवारिक वातावरणमा सेवा दिने उद्देश्य राखेका छौं।”
‘सुनामी’ केवल खानाको स्वादमा सीमित छैन। यहाँ दिउँसो ३ देखि ६ बजेसम्म ‘ह्यापी आवर’मा लाइभ म्युजिक र साँझ ७ देखि १० बजेसम्म नृत्य तथा कमेडी कार्यक्रम सञ्चालन हुने व्यवस्था गरिएको छ। यसले रेष्टुरेन्टलाई पारिवारिक जमघट र मनोरञ्जनको केन्द्र बनाउने विश्वास सञ्चालकहरूको छ।
रेष्टुरेन्ट खोल्न डेढ करोड रुपैयाँ लगानी गरिएको र करिब ४० जनालाई प्रत्यक्ष रोजगारी दिइएको सञ्चालकहरूको दाबी छ। उद्घाटन कार्यक्रममा विराटनगर होटल व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठसहित होटल तथा पर्यटन क्षेत्रका व्यवसायीहरूको उपस्थिति थियो।
प्रतिक्रिया