काठमाडौं : गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विशिष्ट तथा अति विशिष्टको आगमन तथा प्रस्थान प्रक्रिया अझ सरल, सहज र सुविधाजनक बनाउने उद्देश्यले छुट्टै डेस्कको व्यवस्था गरेको छ ।
कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले एक सूचना जारी गर्दै उक्त डेस्कको प्रयोगसम्बन्धी जानकारी गराएका हुन् । सूचनामा भनिएको छ,‘भिआईपी र भिभिआईपी’ डेस्कमार्फत सेवा लिने महानुभावहरूले अध्यागमन प्रक्रियामा अनिवार्य रूपमा स्वयं उपस्थित भई फोटो खिचाउने लगायतका प्रक्रिया पूरा गर्नुपर्नेछ ।’
कार्यालयले नेपाल राजपत्रमा उल्लेखितबाहेक अन्यले उक्त सुविधा प्रयोग नगर्न अनुरोध गर्दै कानुनअनुसार बायोमेट्रिक विवरण दिनुपर्ने व्यवस्था नभएका महानुभावहरू मात्र यस डेस्कबाट अध्यागमन प्रक्रिया पूरा गर्न सक्ने सूचनामा उल्लेख गरेका छ ।
यो व्यवस्था लागू भएसँगै त्रि.अ.वि.मार्फत नेपाल भित्रिने तथा बाहिरिने विशिष्ट व्यक्तिहरूको सुरक्षायुक्त, छिटो र व्यवस्थित सेवा सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया