मधेस प्रदेशका अध्यक्षमाथि झुठा मुद्धा लगाएको भन्दै जसपाले गर्यो बजार बन्द

शनिबार, २८ असार २०८२

रौतहट : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि झुठा मुद्धा लगाएको भन्दै नेता तथा कार्यकर्ताहरूले मलंगवा बजार बन्द गराएका छन् । 

उनिहरुले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने र प्रहरीले लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग अघि सारेका हुन् । जसपा मधेश प्रदेश अध्यक्षमाथि लगाइएको मुद्दा फिर्ता नलिए आन्दोलन जारी रहने जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले बताए । 

उनका अनुसार प्रहरीको ज्यादती विरुद्ध दुई दिने मलंगवा बजार बन्द आह्वान गरेको हो । पहिलो दिन शनिबार बिहानैदेखि मलंगवा बजार बन्द हुनुका साथै यातायात समेत ठप्प छ । 

मलंगवाको विभिन्न स्थानमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूले टायर बालेर प्रदशन गरेका छन् । लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन मलंगवा–नवलपुरसँग जोडिएको सहायक राजमार्ग भएर चल्न सकेका छैनन् । 

मलंगवा बजार क्षेत्रको कलकारखाना बन्द छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने ठाँउ ठाँउमा प्रहरीको उपस्थिति बाक्लो बनाएको छ । सर्लाही जिल्ला अदालतबाट प्रहरीले जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।

अदालतबाट पक्राउ पूर्जी जारी भएको एक साता बितिसक्दा पनि प्रहरीले यादवलाई पक्राउ गर्न भने सकेको छैन ।  पूर्व मधेश प्रदेश सभा सदस्य समेत रहेका यादव र एसपी खड्काबिच असार १९ गते राति टेलिफोनमा अपशब्द प्रयोग गर्दै गालीगलौच र बाझाबाझ भएपछी अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

सर्लाही जिल्ला अदालतले यादवविरुद्ध आपराधिक उपद्रो कसुरमा पक्राउ गर्न असार २० गते नै अनुमति दिएको थियो ।

जसपा नेता यादवलाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । खोजी रहेका नेता यादव भने आफ्नो सामाजिक सन्जालमा विभिन्न भिडियो पोष्ट गर्ने र संचारमाध्यमलाई अन्तर्वार्ता दिने काम भने गरिरहेकै छन् ।
 

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार