कोशी प्रदेशमा पत्रकारसहित १०१ जना खेल अभियन्ता सम्मानित

शनिबार, २८ असार २०८२

विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न माध्यमबाट खेल क्षेत्रमा योगदान पुर्याएका १०१ जनालाई शनिबार विराटनगरमा सम्मान गरेको छ । 

खेलकुदको विविध पक्षमा सक्रिय पत्रकार, उद्योगी, प्रशिक्षक, खेलाडी, टिम व्यवस्थापक र कर्मचारीलाई नगदसहित सम्मान गरिएको हो । पत्रकारितामार्फत खेलकुद प्रवर्धनमा विशेष योगदान दिने अभयकुमार राई, चिरन्जीवी तिम्सिना (सुमन सुस्केरा), अनिल श्रेष्ठ, गुरु ढकाल, रमेश समदर्शी, घनेन्द्र पौडेल र रमा दाहाललाई जनही १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ । 

त्यस्तै, खेलकुद प्रवर्धनमा निजी क्षेत्रको योगदानको कदर गर्दै उद्योगी महेश जाजू र प्रकाश मुन्दडालाई जनही ११ हजार रुपैयाँसहित सम्मान गरियो । खेल क्षेत्रमै सक्रिय रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका पूर्वखेलाडी तथा प्रशिक्षकहरू पनि सम्मानित भए । 

पूर्वअन्तर्राष्ट्रिय फुटबलर धीरेन्द्र प्रधान, क्रिकेट खेलाडी सिद्धान्त लोहनी र राजकुमार प्रधान, राष्ट्रिय प्रशिक्षक महेशप्रसाद रिजाल, ब्याडमिन्टनका लवभक्त श्रेष्ठ, एथलेटिक्सका जितेन्द्र चौधरी र कराँते प्रशिक्षक किरण लामा तामाङलगायतलाई सम्मान गरियो । खेलकुदमा दीर्घकालीन योगदान दिएका पूर्व खेलाडी, प्रशिक्षक, व्यवस्थापक, पदक विजेता र कर्मचारीलाई नगद ५ हजारदेखि १२ हजारसम्मको राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो । 

उनीहरूलाई कोशी प्रदेशका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राई, उपाध्यक्ष विन्ध्या कार्की र सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) लगायतले संयुक्तरूपमा सम्मान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि मन्त्री चौधरीले सरकारको प्राथमिकतामा अब खेल पूर्वाधार निर्माण रहेको स्पष्ट पारे । 

उनका अनुसार आगामी आर्थिक वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । जुन विगतको तुलनामा दोब्बर हो । यसमध्ये ४ अर्ब रुपैयाँ खेल पूर्वाधार निर्माणमै केन्द्रित गरिने छ । उनले विद्यालयस्तरदेखि अन्तर्राष्ट्रियस्तरसम्म खेलाडी उत्पादन र प्रतिस्पर्धालाई लक्षित गरी ‘स्कुलदेखि ओलम्पिकसम्म’ कार्यक्रम कार्यान्वयनको तयारी भइरहेको बताए ।

मन्त्री चौधरीले कोशी प्रदेश विगतमा खेलकुदको दृष्टिले पछि परेको स्वीकार गर्दै अब प्रदेश सरकार, स्थानीय तह र खेल निकायहरूको सहकार्यमा खेल विकासको नयाँ युग आरम्भ गर्नुपर्ने धारणा राखे । उनले जनशक्ति उत्पादनसँगै मैदान, हल, ट्र्याक, स्वीमिङ पुल, डोम, कभर्ड हलजस्ता संरचनाहरू निर्माणमा जोड दिनुपर्ने बताए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजना गरिएको कार्यक्रममा प्रदेशस्तरमा खेल क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई सामूहिकरूपमा औपचारिक सम्मान प्रदान गरिएको हो । यसले खेलकर्मी, सञ्चारकर्मी र खेलप्रेमीहरूको मनोबल बढाउने विश्वास गरिएको छ । सम्मानितहरूमध्ये धेरैले लामो समयदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेलकुदको प्रवर्धनमा योगदान पुर्‍याउँदै आएका थिए ।

सरकारले आगामी वर्षको बजेटमार्फत पूर्वाधार निर्माणमा देखाएको प्रतिबद्धता र सम्मान कार्यक्रममार्फत जनस्तरमा खेलको कदर गरिएको संकेतले कोशी प्रदेशमा खेल क्षेत्र विकासको सम्भावनाको ढोका खुलेको बताइएको छ । खेलकुदको माध्यमबाट युवा सशक्तीकरण र सामाजिक अनुशासनको सन्देश फैलिने बोर्डका सदस्यसचिव बस्नेतले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार