तास्केन्टस्थित मिली रंगशालामा शनिबार सम्पन्न एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपाल र घरेलु टोली उज्बेकिस्तानबीचको प्रतिस्पर्धा पेनाल्टी सुटआउटसम्म पुगेपछि उज्बेकिस्तान विजयी बनेको छ।
निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीमार्फत लिइएको हो, जसमा उज्बेकिस्तानले नेपाललाई (४–२ )ले पछि पार्दै जित दर्ता गर्यो।
दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो। ७१औँ र ७३औँ मिनेटमा सावित्रा भण्डारीले लगातार दुई गोल गर्दै स्कोर ३–३ मा पुर्याइन्। बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसक्दा खेल पेनाल्टीमा गएको हो।
खेलको दोस्रो मिनेटमै उज्बेकिस्तानकी डियोराखोन खबिबुल्लाइभाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाइन्। ११औँ मिनेटमा लुडमिला काराचिकले दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाइन्। २४औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी (साम्बा)ले गोल फर्काउँदै खेलमा फर्काउने संकेत दिइन्।
३८औँ मिनेटमा नेपालकी सरस्वती हमालको ह्यान्डका कारण उज्बेकिस्तानले पेनाल्टी पायो, जसलाई मफ्तुना सोयीमोभाले सहजै गोलमा परिणत गरिन्। पहिलो हाफको इन्ज्युरी समयमा उज्बेकिस्तानकी नोजिमा इर्गासेभाले दोहोरो पहेँलो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भयो।
जितसंगै उज्वेकिस्तान एएफसी महिला एसियन कपमा छनोट भएको छ ।
प्रतिक्रिया