काठमाडौँ : नेपाल पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिका लागि अध्यक्षका उम्मेदवार कुलबहादुर गुरुङले ‘स्वच्छ हिमाल अभियान’ सञ्चालन गर्ने घोषणा गरेका छन् ।
सङ्घको यही भदौ ७ गते हुन लागेको निर्वाचनमा अध्यक्षका उम्मेदवारसमेत रहेका गुरुङले आज आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा हिमालको आधारशिविरदेखि आरोहण मार्गसम्म दीर्घकालीन फोहर व्यवस्थापन आफ्नो प्रमुख मुद्दा भएको बताए ।
यस्तै, हाल विद्यमान आरोहण फोहर धरौटी रकम फिर्ता गर्ने प्रणाली र फोहर व्यवस्थापनसम्बन्धी वास्तविक, व्यावहारिक, प्रभावकारी र दिगो व्यवस्थापन कार्यमा जोड दिइने बताए ।
ग्रीन गाइडलाइन कडाइका साथ पालना गर्न उचित पहल गरिने, जलवायु परिवर्तनका असरबारे अन्तरराष्ट्रिय जगतलाई सन्देश दिने र जलवायु कूटनीतिमा नेपालको नेतृत्वकारी भूमिका सुनिश्चित गर्न राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा पहल गरिने उनले बताए ।
गुरुङले हिमालसँग सम्बन्धित स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिइने, अफसिजन र कम परिचित शिखरको प्रवद्र्धन गरेर पर्यटन लाभको समान वितरण सुनिश्चित लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिने, गाइड, शेर्पा र उच्च हिमाली श्रमिकका लागि तालिम, बिमा, स्वास्थ्य, कानुनी सहयोग र सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रस्ताव तयार गरी कार्यान्वयन गर्न लाग्ने उल्लेख गरे ।
यसैगरी, हिमाल आरोहणका क्रममा दिवङ्गत श्रमिकका परिवारका लागि विशेष पेन्सन, अक्षयकोष, छात्रवृत्ति, व्यावसायिक तालिम र आयस्रोतमुखी सीप विकासको कार्यक्रम लागू गर्न पहल गरिने बताए ।
पर्वतारोहण तालिम प्रतिष्ठान र अनुसन्धान केन्द्र स्थापना गरिने, मनाङ पर्वतारोहण तालिम विद्यालय, अन्नपूर्ण उद्धार केन्द्र र ककनी अन्तरराष्ट्रिय पर्वतारोहण स्मृति पार्कको स्तरोन्नति गरिने उनको भनाइ छ ।
यस्तै, अन्य हिमाली क्षेत्रमा नयाँ तालिम तथा उद्धार केन्द्र स्थापना गर्न पहल गरिने, महिला पर्वतारोहण पहल, युवाका लागि अन्तरराष्ट्रिय छात्रवृत्ति र विशेष सीप विकास कार्यक्रम सञ्चालन गरिने, प्रदेश र स्थानीय सरकार तथा स्थानीय सरोकारवालासँग सहकार्य गरेर पूर्वाधार विकास र तालिम कार्यक्रम सञ्चालन गरिने गुरुङले बताए ।
उनले नेपालका हिमाललाई अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै प्रचारप्रसार गर्ने र वार्षिक रुपमा अन्तरराष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने बताए ।
गुरुङ समूहका तर्फबाट वरिष्ठ उपाध्यक्षमा टीकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र महासचिवमा विमलकुमार नहर्कीले उम्मेदवारी दिएका छन् । यसैगरी, सचिवमा डिमा दिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिएका हुन् ।
सदस्यमा पुस्कर शाह, बलबहादुर सुयल, माधवप्रसाद पाण्डे, हरिगोपाल प्रधान, सुदांश लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा, पासाङ शेर्पा र अशोककुमार तामाङले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया