उदयपुर । उदयपुरमा शनिबार साँझ दुर्घटनामा परेको जेसीबीले किचेर चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–८ दमारमा को १ क २७९५ नम्बरको जेसीबी साँझ ७ः५५ बजेतिर दुर्घटनामा परेको हो । काम गर्ने क्रममा ‘ब्याक’ गर्न खोज्दा जेसीबी आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी प्रहरीले दिएको छ ।
जेसीबी सडकबाट करिब ६० मिटर तल खस्दा चालक कटारी–१० का २२ वर्षीय नवीन श्रेष्ठको मृत्यु भएको छ । प्रहरीका अनुसार सडकबाट खसेको जेसीबीको चक्काले ढाडमा किच्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थल ट्राफिक प्रहरी पोस्ट कटारीबाट करिब १९ किलोमिटर उत्तरमा पर्छ । दुर्घटनाग्रस्त जेसीबी घटनास्थलमै रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया