यस वर्ष पाँचसय युवालाई स्टार्टअप ऋण सहायता दिने प्रधानमन्त्रीको घोषणा

विहीबार, ०७ चैत्र २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्न सरकारको पहलस्वरूप यस वर्ष कम्तीमा पाँच सय युवालाई स्टार्टअप ऋण सहायता प्रदान गरिने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले नवप्रवर्तन र सृजनशीलतालाई प्रोत्साहन गर्दै स्टार्टअपमा आधारित उद्यमशीलता विकासका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने कार्यक्रम अघि बढाइएको बताए। इच्छुक प्रस्तावकहरूको छनोट प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी समेत उनले दिएका छन्। प्रधानमन्त्री ओलीले स्वदेशमै उत्पादन वृद्धि र रोजगारीको दिगो आधार तयार गर्न सरकारले हालै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न गरेको उल्लेख गर्दै विश्वव्यापी सन्दर्भमा कुनै पनि राष्ट्रका नागरिक व्यवसाय, रोजगारी वा अध्ययनका लागि विदेश जाने क्रम स्वाभाविक भएको बताए। उनले युवाको विदेश पलायनलाई पूर्ण रूपमा नकारात्मक रूपमा व्याख्या गर्नु उचित नभएको उल्लेख गर्दै व्यक्तिगत रूपमा विदेश जानु गौरवको विषय ठान्ने तर सामाजिक रूपमा नकारात्मक रूपमा बुझ्ने प्रवृत्तिले गलत सन्देश गएको बताए। “पहिले जीवन निर्वाहका सीमित विकल्पहरू थिए, तर आज अवसरहरू फराकिला भएका छन्। हाम्रा युवाहरूले पनि संसारभर अवसरहरूको खोजी गरेका छन्। तर, यसलाई आधार बनाएर स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्न कुनै काम नगरेको भन्ने गलत धारणा फैलाउनु हुँदैन,” उनले भने। प्रधानमन्त्री ओलीले औद्योगिक लगानीको वातावरण सुधार गर्दै स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने, विदेशी लगानी आकर्षित गर्ने, उत्पादन र उत्पादकत्व वृद्धिका साथै रोजगारी सिर्जना गर्ने उद्देश्यले विभिन्न नीतिगत तथा कानुनी सुधार गरिएको बताए। आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न व्यवसाय मैत्री कानुनहरू बनाइएका उनको भनाइ थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार