पाँचथर : पाँचथरको फिदिममा आयोजित पाँचौं संस्करणको पाँचथर गोल्डकपमा विदेशी खेलाडीहरूको प्रभाव देखिएको छ।
नमोबुद्ध फुटबल क्लब सप्तरीका तर्फबाट खेलेका विदेशी खेलाडी एलेक्सले एक्लैले तीन गोल गर्दै हाइ स्कोररको उपाधि जिते। मच्छिन्द्र फुटबल क्लब काठमाडौंका स्टेफन र चर्च ब्वाइजका फोफोनाले समान दुई-दुई गोल गरे।
नेपालमा नै रहेर नेपाली क्लबबाट खेलिरहेका यी नाइजेरिया र कम्बोडियाका खेलाडीहरूले हालैका फुटबल प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका छन्। पछिल्लो समय नेपालका 'ए' डिभिजन क्लबहरू मात्र नभई मोफसलका क्लबहरूले पनि प्रतिष्ठित प्रतियोगिता जित्न विदेशी खेलाडीहरू भित्र्याउने प्रवृत्ति अपनाएका छन्। पाँच लाखभन्दा बढी पुरस्कार राशी भएका प्रतियोगिताहरूमा विदेशी खेलाडीको संख्यामा वृद्धि हुँदै गएको छ।
गत फागुन २४ देखि चैत २ गतेसम्म चलेको पाँचथर गोल्डकपमा आयोजक पाँचथर क्लबले दुई जना विदेशी खेलाडी मैदानमा उतारेको थियो। सोही समयमा झापामा भएको मेचीनगर गोल्डकप र विराटनगरमा सम्पन्न विराट गोल्डकपमा समेत चर्च ब्वाइज र मच्छिन्द्र क्लबले समान रूपमा दुई-दुई जना विदेशी खेलाडी मैदानमा उतारेका थिए।
यसैगरी, गत पुषमा सम्पन्न एघारौं फाल्गुनन्द गोल्डकपमा सहभागी १० मध्ये ८ टिमले दुई-दुई जना विदेशी खेलाडी खेलाएका थिए।
पाँचथर गोल्डकपमा सहभागी ८ टिममध्ये भारतको हिल्स फुटबल एकेडेमी र नेपाल पुलिस क्लबबाहेक अन्य ६ टोलीले विदेशी खेलाडी समावेश गरेका थिए। पुषमै इलाममा सम्पन्न माइभ्याली गोल्डकपमा पनि अधिकांश टोलीमा विदेशी खेलाडी सहभागी थिए।
मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक सबिन अधिकारीका अनुसार विदेशी खेलाडीहरू शारीरिक रूपमा बलिया, प्रविधिक रूपमा दक्ष, र रणनीतिक रूपमा अब्बल हुने भएकाले क्लबहरूले उनीहरूलाई अनुबन्धन गर्ने गरेका छन्।
नमोबुद्ध क्लब सप्तरीका कप्तान सुरेश लामाका अनुसार, विदेशी खेलाडीको उपस्थिति प्रतिस्पर्धी टिमका खेलाडीहरूमा मनोवैज्ञानिक दबाब सिर्जना गर्न मद्दत गर्छ। एलेक्सकै उत्कृष्ट प्रदर्शनकै कारण उनकी टोली पाँचथर गोल्डकपको उपाधि जित्न सफल भएको उनले बताए।
तर, दर्शक र विश्लेषकहरू भने विदेशी खेलाडीहरूको भर पर्ने प्रवृत्तिले नेपाली फुटबलको भविष्यमा असर पार्न सक्ने बताउँछन्। फिदिम भेट्रान्स क्लबका कमल थपलियाले दीर्घकालीन रूपमा नेपाली खेलाडीको विकास गर्न राज्यले आधारभूत तहबाटै खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए।
पुराना खेलाडीहरूका अनुसार, क्लबहरूले स्ट्राइकर र डिफेन्डर जस्ता महत्वपूर्ण स्थानमा विदेशी खेलाडी भित्र्याउँदा नेपाली खेलाडीहरूको मनोबल कमजोर हुने खतरा बढेको छ।
नेपाली फुटबलको गुणस्तर वृद्धिका लागि दीर्घकालीन योजना र लगानी आवश्यक रहेको उनीहरूको धारणा छ।
प्रतिक्रिया