इटहरी : ग्लोबल आइएमई बैङ्क लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरू अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एसिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअनुसार, विश्व बैङ्क समूहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैङ्कको डिजिटल रूपान्तरण तथा डाटा म्याचुरिटि मूल्याङ्कन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरू पहिचान गर्ने र बैङ्कको डिजिटल बैङ्किङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ ।
साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरू प्रवद्र्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई बैङ्कलाई सल्लाह प्रदान गर्नेछ ।
यस समझदारीपश्चात् बैङ्कमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूलाई रूपान्तरण गरी नवीन र प्रविधिमैत्री सेवाहरू विकास गर्न सहज हुने विश्वास बैङ्कले लिएको छ ।
बैङ्कले आफ्नो ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै यस सम्झौताले बैङ्कको डिजिटल बैङ्किङको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताए ।
प्रतिक्रिया