इटहरी : सुनसरीको कोशी गाउँपालिकाबाट एक वालिकाको अपहरण भएको छ । कोशी गाउँपालिका वडा नं ७, मुसहरी टोलमा बस्ने कुशेश्वर सदाको छोरी इशु सदाको अपहरण भएको हो ।
हिजो (बुधवार) दिउँसो १ः४० बजे इशु घर अगाडि खेल्दै गर्दा अपरिचित व्यक्तिले सिटी सफारीमा अपहरण गरेर लगेको थियो।
वालिका अपहरणमा परेको हल्ला भए लगतै वडा नं ७ का वडाध्यक्षले प्रहरी चौकी हरिपुरलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुने साथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले इशुको घरमा पुगेर सोधपुछ गर्दा, अपहरण गर्ने व्यक्तिको बारेमा कसैलाई थाहा नभएको पाइएको थियो।
तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीले सिसिटिभी फुटेजको विश्लेषण गरेर र स्थानीय व्यक्तिहरूसँग सोधपुछ गर्दा अपहरण गर्ने व्यक्तिको पहिचान भएको र अपहरण गर्ने व्यक्तिको नाम ३० वर्षीया जितेन्द्र साह (हलुवाई) रहेको खुलेको प्रहरीले जनाएको छ।
सप्तरीको कन्चनरुप नगरपालिका वडा नं १२ धरमपुरका निवासी जितेन्द्र साह भारतमा बसोबास गर्दै आएको खुल्नमा आएको प्रहरीले जनाएको छ ।
यस घटनाको थप अनुसन्धानको लागि डिएसपी तथा सुनसरी प्रहरीका प्रवक्ता योगराज खतिवडाको नेतृत्वमा ९ सदस्यीय टोली गठन गरिएको छ ।
टोलीले प्रदेश प्रहरी कार्यालय विराटनगरको सहयोगमा भारतका काउन्टरपार्ट्ससँग समन्वय गर्दै बालिकाको खोजतलास कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
प्रतिक्रिया