तीनकुने घटनाले देशको बेइज्जत गर्‍यो, उद्योगी–व्यवसायी आतङ्कित बने : रक्षामन्त्री राई

शुक्रबार, २२ चैत्र २०८१
काठमाडौं । रक्षामन्त्री मानवीर राईले तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनका क्रममा भएका घटनाले मुलुकको बेइज्जत गरेको बताएका छन् । भाटभटेनी सुपरमार्केटलगायतका व्यापारिक प्रतिष्ठानहरूमा भएको आगजनी, लुटपाट तथा तोडफोडले उद्योगी–व्यवसायीहरूमा आतङ्क सृजना गरेको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे । राजधानीमा आयोजित ‘कर्पोरेट बिजनेस अवार्ड, २०२५’ कार्यक्रममा बोल्दै मन्त्री राईले उद्योगी–व्यवसायीहरूमा परेको असरप्रति दुःख व्यक्त गर्दै सरकारले यस्ता घटनाहरूलाई नियन्त्रण गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउने प्रतिवद्धता जनाए । साथै, व्यवसायमा लगानी गर्नेहरूलाई सुरक्षा प्रदान गर्न सरकारले आवश्यक कदम चाल्ने पनि उनले स्पष्ट पारे । उनले कुनै पनि सरकारी कार्यालय वा मन्त्रालयमा दर्ता गरिएका फाइलहरूको प्रक्रिया ढिलोमा एक हप्ताभित्र टुंग्याउने नीति सरकारले लिएको जानकारी दिए। आवश्यक निर्णय गर्न सकिने फाइलहरू तुरुन्तै अघि बढाइने तथा असम्भव हुने अवस्थामा पनि सम्बन्धित पक्षलाई यथाशीघ्र जानकारी दिने प्रणाली विकास गरिने उनको भनाइ थियो । मन्त्री राईले निजी क्षेत्रले मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै हिजोका कठिन परिस्थितिहरू सामना गर्दै देशलाई वर्तमान अवस्थासम्म ल्याइपुर्याउन गरेको योगदानका लागि धन्यवाद व्यक्त गरे । साथै, निजी क्षेत्रले उठाएका समस्याहरू समाधान गर्न सरकारले नयाँ नीति तथा अध्यादेश ल्याइरहेको उल्लेख गर्दै कानुनी जटिलता हटाउँदै लगानी प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित अवार्ड समारोहको १७औँ संस्करणमा ११ विधामा २४ अवार्ड तथा एक जनालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार