विराटनगर । मोरङको रतुवामाईमा शुक्रबार राति मोटरसाइकल दुर्घटनामा परेर एक दम्पतीको मृत्यु भएको छ ।
मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा राति १०ः१० बजेतिर दुर्घटना भएको भएको हो । आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको लम्सालले बताए ।
दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई नगरपालिका–१ कल्याणपुरका अन्दाजी ४२ वर्षीय सोम टुडू र पछाडि सवार उनकै पत्नी अन्दाजी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको हो । इन्स्पेक्टर लम्सालका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई स्थानीयले उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पठाएका थिए ।
उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाले मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट यकिन भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया