सोलुखुम्बु । सोलुखुम्बुको सोताङमा शनिबार साँझ बोलेरो दुर्घटना भएको छ । सोताङ गाउँपालिका–२ जुकेमा दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ भने मृतकका नाबालक छोरा घाइते भएका छन्।
प्रहरीका अनुसार सोताङबाट जुकेका लागि छुटेको प्र ३–०१–०२४ च ६८१४ नम्बरको बोलेरो आइतबार साँझ ५ः१५ बजेतिर दुर्घटनामा परेको हो ।
जुकेस्थित भित्री कच्ची सडक खण्डमा रोकेर सामान झार्ने क्रममा उक्त बोलेरो चिप्लिएर सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर बोलेरोमा सवार सोताङ –५ की अन्दाजी ३२ वर्षीया सरिता राईको मृत्यु भएको छ । दुर्घटनापछि उनी सडकबाट करिब सय मिटर तल भिरमा अड्किएकी थिइन्।
गम्भीर घाइते उनलाई उद्धार गरेर उपचारका लागि सोताङ प्राथमिक अस्पताल लगिएको थियो । उपचारका क्रममा राति १० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मृतकका १८ महिने छोरा रेवन राई सामान्य घाइते भएका छन्। उपचार जारी रहेका उनको अवस्था खतरामुक्त रहेको प्रहरीले उल्लेख गरेको छ । बोलेरोमा सवार रहेका ४ मध्ये २ जना सकुशल छन् ।
बोलेरो र चालक ४३ वर्षीय प्रेम राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । कच्ची सडकको ओरालो र जोखिमपूर्ण भूबनोटका कारण चिप्लिएर बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया