एमाले रतुवामाईको अध्यक्षमा देवीप्रसाद दाहाल निर्वाचित

आइतबार, २४ चैत्र २०८१
विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा नेकपा (एमाले) नगर कमिटीको अध्यक्षमा देवीप्रसाद दाहाल निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि शनिबार मतदान हुँदा दाहालले बाजी मारेका हुन् । शनिबार नै सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार दाहाल १ सय ५४ मतसहित निर्वाचित भएका हुन् भने अध्यक्षका अर्का उम्मेदवार प्रकाशचन्द्र ढकालले दाहालको भन्दा आधा पनि मत पाउन सकेनन् । उनी ६६ मतमा सीमित भए । पदाधिकारीका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवारहरु अलगअलग प्यानल बनाएर मैदानमा निस्किएका थिए । पदाधिकारीमा सबै दाहाल समूहका निर्वाचित भएका छन् । उपाध्यक्षमा याम प्रसाईं १ सय ३४ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धि हरि श्रेष्ठले ८० मत ल्याए । सचिवमा नारायण ताजपुरीया निर्वाचित भएका छन् । उनले १ सय ५९ मत प्राप्त गर्दा सचिवका अर्का उम्मेदवार हेक कार्की ५३ मतमा खुम्चिए । यस्तै, उपसचिवमा रामकुमार लिम्बू निर्वाचित भएका छन् । उनी १ सय १० मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी रामकुमार राजवंशीले ४५ मत प्राप्त गरे । महिला उपसचिवमा भने दाहाल समूहकै सीता बर्देवा निर्विरोध निर्वाचित भएकी थिइन । ७५ सदस्यीय नगर कमिटीमा सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् । नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेपनि अन्तिम समयमा समूहगत प्रतिस्पर्धा भएको थियो । दाहाल समूहलाई एमाले नेता मेघराज कट्टेल, शंकर थापा, प्रवेश विष्टलगायतको समर्थन थियो । अर्थात, दाहाल पार्टीभित्रको संस्थापन अर्थात अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार हुन् । ढकाल समूहलाई दुर्गाबहादुर विष्ट, गोपी चापागाईंलगायतका नेताहरुले समर्थन गरेका थिए । ढकाललाई संस्थापनइतर समूहका नेताहरुको समर्थन थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार