ललितपुर । देशभर सामुदायिक विद्यालयका शिक्षकहरूले शिक्षा ऐन पारित गर्न माग गर्दै राजधानीमा आन्दोलन जारी राखेका छन्।
शिक्षकहरूको आन्दोलनसँगै नेपाल शिक्षक महासंघले आह्वान गरेको शैक्षिक आमहड्तालका कारण विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ।
यसै सन्दर्भमा नेपाली कांग्रेसको शिक्षा विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूको मागलाई सम्बोधन गर्न र नेपाल शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा शिक्षण सुधारसम्बन्धी सरकारसँग भएका सहमति तथा सम्झौताहरूको कार्यान्वयनका लागि शीघ्र शिक्षा ऐन पारित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै उत्पन्न परिस्थितिको दीर्घकालीन समाधानका लागि शिक्षकमाझको असन्तोष मेटाउन शीघ्र संवादको पहल गर्न कांग्रेसले आग्रह गरेको छ।
विज्ञप्तिमा कांग्रेस केन्द्रीय शिक्षा विभागका प्रमुख नैन सिंह महरले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया